घुस काण्डमा मुछिएका ‘एमाले वकिल’ ले ‘मेरो भ्वाइस होइन’ भनेपछि बार काउन्सिलको अर्को ताकेता
निक्षेपकर्ताको अरबौँ रकम ठगी गरेवापत कारागारमा रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौँ जिल्ला अदालतका एक न्यायाधीशसँग करोडौं रुपैयाँको घुस मोलमोलाई गरेका अधिवक्ता रुद्रप्रसाद पोख्ररेललाई नेपाल बार काउन्सिलले दोस्रो पटक स्पस्टिकरण सोधेको छ । पहिलो पटक गत साउनमा सोधिएको स्पस्टिकरणमा उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै काउन्सिलले फेरि जवाफ मागेको हो ।
‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएलगत्तै साउन ३ गते काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै एक साताको म्याद राखेर पोखरेललाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । अडियो बाहिरिएपछि बेपत्ता भएका पोखरेलले तोकिएको म्यादभित्रै जवाफ पेश गरेका थिए । तर,अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गर्दै उनले आरोप अस्वीकार गरेपछि काउन्सिलले पुन: अर्को स्पस्टिकरण सोधेको छ ।
काउन्सिलका वरिष्ठ शाखा अधिकृत विदुर सापकोटाका अनुसार उनले अडियोमा भएको भ्वाइस आफ्नोजस्तै बनाएर सार्वजनिक गरिएको जवाफ दिएपछि फेरि स्पस्टिकरण सोधिएको हो । पछिल्लो स्पस्टिकरणको पनि पोखरेलले जवाफ दिइसकेको र त्यसबारे आवश्यक निर्णय गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
पोखरेलले बुझाएको दोस्रो स्पस्टिकरणको जवाफमा के छ भन्नेबारे भने काउन्सिलले केही खुलाएको छैन । अब बस्ने अनुशासन समितिको बैठकले यसबारे निर्णय गर्ने सापकोटाले बताए । महान्यायाधिवक्ता खम्मबहादुर खातीको अध्यक्षतामा रहेको तीन सदस्यीय अनुशासन समितिमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र डा.रजितभक्त प्रधानाङ्ग सदस्य रहेका छन् ।
संगठित ठगी मुद्धाका अभियुक्त तामाङलाई छुटाउन प्रधानन्यायाधीशसम्म सेटिङ मिलाएको र आफूहरूलाई दुई करोड भागमा पर्ने भन्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस मोलमोलाई गर्ने अधिवक्ता पोखरेल नेकपा एमालेको कानुन विभागका सदस्य पनि हुन् ।
टिप्पणीहरू