काठमाडौँमा बिजुली फालाफालको भाषण, ३५ स्थानीय तहमा अझै अन्धकार
विध्युतको खपत बढाउन विध्युतीय सामाग्रीको प्रयोगमा जोड दिइरहेको सरकारले देशका ३५ स्थानीय तहमा भने अझै बिजुली पुर्याउन सकेको छैन । नेपाल विद्युत प्राधिकरणले देशैभरका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको ‘विद्युतिकरण तथ्याङ्क’ मा ३५ स्थानीय तह अझै अन्धकारमै रहेको उलेख छ ।
उक्त तथ्याङ्कअनुसार ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । जसमध्ये २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युत पुगेको छ । प्राधिकरणले कूल जनसंख्याको ९२.५१ प्रतिशतको घरमा विद्युतको पहुँच पुगेको दाबी गरेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रुपमा काम भइरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (ईआइबी)बाट २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्ने तयारी छ ।
मधेशमा सतप्रतिशत
सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३ प्रतिशत,बागमतीमा ९७.४७,गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत घरमा बिजुली पुगिसकेको प्राधिकरणले जनाएको छ ।
कुन-कुन जिल्लामा पुग्यो बिजुली ?
प्राधिकरणका अनुसार ७७ मध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । झापा,मोरङ, सुनसरी,धनकुटा, सप्तरी,सिराहा,धनुषा, महोत्तरी,सर्लाही,रौतहट, बारा,पर्सा,रामेछाप, दोलखा,काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं,भक्तपुर र ललितपुरमा सबैतिर विद्युत पुगेको छ ।
त्यस्तै,नुवाकोट,रसुवा, धादिङ,चितवन,तनहुँ, लमजुङ,कास्की, स्याङ्जा,पाल्पा,पर्वत, मुस्ताङ,बागलुङ,गुल्मी, प्यूठान,नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी,रुपन्देही, अर्घार्खाची,कपिलवस्तु, दाङ,बाँके,बर्दिया, कैलाली,कञ्चनपुर पनि पूर्णविद्युतीकरण भएको जिल्लामा सूचिकृत छन् ।
इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, पाल्पा, म्याग्दी, रुकुमपश्चिम, डाटी र डडेलधुरा गरी १४ जिल्लामा ७५ देखि ९५ प्रतिशतका घरमा बिजुली छ भने ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, मनाङ, रोल्पा, सल्यान सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ ।
त्यस्तै, रुकुमपूर्व, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी ७ जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्दछन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी ४ जिल्लामा ० देखि २५ प्रतिशतको घरमा मात्र बिजुली पुगेको छ ।
डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । तर, राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गर्ने सरकारी योजना छ ।
टिप्पणीहरू