निलम्बित प्रधानन्यायाधीश राणाको आइतबार फेरि वयान

निलम्बित प्रधानन्यायाधीश राणाको आइतबार फेरि वयान

महाभियोगको आरोपमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई हिजोदेखि संसदीय समितिले सोधपुछ थालेको छ । हिजो लामो समय लिएको महाभियोग सिफारिस समितिले आज दुई घण्टामा काम सकाएको छ ।

आज दुई वटा जिज्ञासा राखेको समितिले प्रधानन्यायाधीश राणालाई थप जिज्ञासाको जवाफ दिन आइतबार ११ बजे पुनः बोलाउने निर्णय गरेको छ । बिहान ११ बजे भनिए पनि समितिको बैठक झण्डै २५ मीनेट ढिलो शुरु भएको थियो । पाँच मीनेट बैठक गरेपछि साढे ११ बजेदेखि साढे १ बजेसम्म निलम्बित प्रधानन्यायाधीशसँग माननीयहरुले सवाल तेर्स्याएका थिए ।

तर जवाफ दिने क्रममा राणाले संसदको महाअभियोग सिफारिस समितिको हैसियतमाथि नै प्रश्न उठाउनुभएको छ । उहाँले महाअभियोग प्रस्तावका प्रस्तावक सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको विषयलाई जोडदार ढंगले उठाउनुभएको थियो ।

यसअघि सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कानुन,न्याय तथा मानवअधिकार समितिको सभाहलमा समितिका ज्येष्ठ सदस्य रामबहादुर बिष्ट, एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, कांग्रेसका मीनबहादुर विक, माओवादी केन्द्रका यशोदा सुवेदी, नेकपा एकीकृत समाजवादीका कल्याणी खड्का र जनता समाजवादीका प्रमोद साहलगायतको उपस्थितिमा समितिको बैठक भएको थियो ।

टिप्पणीहरू