विपद्मा परेकालाई लुम्बिनी सरकारले उद्धार गर्ने

विपद्मा परेकालाई लुम्बिनी सरकारले उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७९ सार्वजनिक गरेसँगै विपद्मा परेका प्रदेशभित्रका नागरिकले उक्त सेवा पाउने भएका छन् ।

प्रदेश सुशासन ऐन, २०७६ को दफा ५३ बमोजिम सरकारले कार्यविधि बनाएको छ । प्रदेशभित्र प्राकृतिकलगायत विपद्मा परेका नागरिकलाई जोगाउन उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले वायुसेवा कम्पनीहरुसँग दरेरट निर्धारण र खरिद सम्झौताको प्रस्ताव आह्वानसमेत गरेको छ । आज सार्वजनिक गरिएको कार्यविधिमा हवाइ सेवा प्रदायक संस्थाहरुलाई मन्त्रालयमा सूचीकृत हुन सात दिने सूचना प्रकाशित गरिने उल्लेख छ ।

नेपाल सरकार तथा हवाई उड्ययनसँग सम्बन्धित नियामक निकायले जारी गरेको दररेटभन्दा बढी मूल्य पेश गर्ने संस्थालाई छनौट प्रक्रियामा सहभागी नगराइने स्पष्ट रुपमा जानकारी गराइएको छ ।

विपद्मा परी ज्यान जोखिममा परेका व्यक्तिको हवाई उद्धार गरी सुरक्षित स्थानमा अवतरण गराउने, घाइतेलाई अस्पताल पुर्याउने र अन्य माध्यमबाट सम्भव नभएमा राहत वितरणमा समेत हवाई सेवा प्रयोग गर्ने गरी मन्त्रालयले प्रस्ताव मागेको हो ।

हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, चट्याङ, भुकम्पलगायत प्राकृतिक विपद्मा हवाई सेवा उपलब्ध गराइने छ ।

महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतंक, पशु तथा चराचुरुङ्गीबाट हुने फ्लु, सर्पदंश, जल तथा औद्योगिक दुर्घटनामासमेत उक्त सेवा दिने गरी कार्यविधि बनेको मन्त्रालयले जानकारी गराएको छ ।

टिप्पणीहरू