‘सितेबा’ ईश्वरको ठाउँमा उठ्ने, सबैले लौरो पाए
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आज आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो ।
अभियान घोषणा कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरु आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्ह र साझा घोषणापत्र लिएर प्रचारप्रसारमा निस्किने जानकारी गराइएको थियो ।
अभियानका संयोजक सुमन सायमीले निर्वाचन आयोगबाट प्रदान गरिने चुनाव चिन्ह प्राप्त गर्न ढिलो हुने भएकाले संयुक्त अभियान शुरु गरिएको जानकारी दिए । आम नागरिकको घरदैलोमा पुग्न ढिलाइ हुने देखिएपछि संयुक्त प्रचारप्रसारमा खटिने निष्कर्ष निकालिएको उनको भनाइ छ ।
मुलुकभरबाट स्वतन्त्र उम्मेदवारी घोषणा भइरहेको उल्लेख गर्दै उनले विभिन्न पार्टी, अभियान तथा शक्तिहरुसंग जोडिएर अघि बढ्न सुझाएका छन् । वैकल्पिक राजनीतिकमा आफ्नो स्थान बनाइसकेकासंग हातेमालो गरेर एउटै चुनाव चिन्हमा अघि बढ्दा राम्रो हुने उनको प्रतिक्रिया छ ।
साथै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साम्पाङ्ग, धनगढीका मेयर गोपी हमाललगायत देशको मुहार फेर्न जुटेका र राजनीतिमा अग्रसर रमेश खरेल, रवि लामिछाने, स्वागत नेपाल, समिक्षा बाँस्कोटा, डम्बर साहुलगायत परिवर्तन चाहने शक्तिहरु एकै ठाँउमा रहेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
संयोजक सायमीले आज र अहिलेबाट नै स्वतन्त्र तथा वैकल्पिक धारका नेतृत्वहरु, शक्तिहरु, समूहहरु, अभियान तथा राजनीतिक पार्टीहरुसंग कार्यगत एकता र सहकार्यका लागि छलफल र वार्ता प्रारम्भ गर्ने जानकारी गराएका छन् ।
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को संयोजन गरेका सायमीले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा आँखीझ्याल चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
आज भएको पत्रकार सम्मेलनमा केही स्वतन्त्रहरुले आफ्नो उम्मेद्वारीसमेत घोषणा गरेका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट अशोककुमार केसी, काठमाडौं-९ बाट विद्या श्रेष्ठ महर्जन र १० बाट गंगाप्रसाद भेटवालले चुनाव लड्ने घोषणा गरे । त्यस्तै, एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अघिल्लोचोटी जितेको काठमाडौं क्षेत्र नम्बर ५ बाट कलाकार मधुसूदन पाठकले उम्मेद्वारी घोषणा गरेका छन् । हाँस्य टेलीसिरिएल सक्किगोनिमा ‘सितेबा’ पात्रका रुपमा उनी चर्चित छन्।
कार्यक्रममा उपस्थित भएका उम्मेदवारलाई संयोजक सायमीले लौरो उपहार दिएर नेपालको झण्डा ओडाएका थिए ।
टिप्पणीहरू