जन्मदिनमा एचआईभी पीडित परिवारलाई खाद्यान्न सहयोग
जन्मदिनको अवसरमा रुकुम पश्चिमका एक पत्रकारले एचआइभी पीडित परिवारलाई सहयोग गरेका छन् । पत्रकार भुवन केसीले जन्मदिनको अवसरमा एचआइभी पीडित परिवारलाई खाद्यान्न प्रदान गरेका हुन् ।
मुसिकोट १ निवासी रेडियो यूनिक एफएमका स्टेशन म्यानेजर केसीले मुुसिकोट नगरपालिका ६, भण्डारीकाँडामा कष्टकर जीवनयापन गर्दै आउनुभएकी ७० वर्षीया लक्ष्मी सुनारको परिवारलाई सहयोग गरेका हुन् । उनका छोरा बुहारी एचआइभी संक्रमित छन् ।
कष्टकर जीवनयापन गरिरहेको उक्त परिवारलाई जन्मदिनको अवसर पारेर सहयोग उपलब्ध गराएको पत्रकार केसीले बताए । जन्मदिनलाई फजुल खर्च गरेर क्याफे, रेष्टुरेन्टमा मनाउनुभन्दा अभावमा दिन व्यतित गरिरहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु उत्तम हुने उनको भनाइ छ । ‘जन्मदिनको खर्चले उक्त परिवारलाई सहयोग गर्न पाउँदा गर्वको अनूभूति भएको छ,’ पत्रकार केसीले बताए ।
सहयोग प्रदान कार्यक्रममा मुसिकोट नगरपालिका ६ का वडा अध्यक्ष भानु मल्लले पत्रकार केसीले पुण्यको काम गरेको उल्लेख गरेका छन् । जन्मदिनको अवसरमा कठिनाईपूर्वक बाँचिरहेका परिवारलाई सहयोग गर्नु उदाहरणीय काम भएको वडा अध्यक्ष मल्लको टिप्पणी छ ।
पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले पनि जन्मदिनको अवसरमा मानवीय कार्य गरिएको बताए । पत्रकार केसीले आफ्नो जन्मदिनमा तडकभडक र भड्किलो खर्च नगरेर पीडामा बाँचेका परिवारलाई साँझ बिहानको छाक जुटाउन सहयोग गर्नु उत्कृष्ट काम भएको समेत अध्यक्षको भनाइ छ ।
पीडित परिवारलाई १५ हजार मूल्य बराबरको दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेल, बेसार, पिठो, डसना, सिरक हस्तान्तरण गरिएको हो । सानो झुपडीमा तीन जनाको परिवारले कष्टकर जीवन बिताइरहेका छन् । दैनिक छाक टार्न समेत उनीहरुलाई धौ धौ हुने गरेको छ ।
टिप्पणीहरू