नागरिक उन्मुक्ति पार्टीमा पस्ने सांसददेखि सदस्य सचिवको नालिबेली
टिकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीमा सांसददेखि पशुपति विकास कोषका पूर्वसदस्य सचिवसम्म प्रवेश गरेका छन् ।
आज एक कार्यक्रमका बीच पूर्वसदस्य सचिव डा. प्रदीप ढकालसँगै कैलाली जिल्लाबाट बहालवाला प्रदेश सांसद र केही पूर्वसांसद जनमुक्ति पार्टीमा मिसिएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमालेका प्रदेशसभा सदस्य रतन थापा,पूर्वसांसद हिमाञ्चल भट्टराई र कैयाँ चौधरी छन् । भट्टराई एमाले कैलालीका स्थानीय नेता हुन् भने चौधरी राप्रपा केन्द्रीय सदस्य हुन् ।
काठमाडौँ भएको उक्त कार्यक्रममा पशुपति विकास कोषका पूर्वसदस्य सचिव डा.ढकालले मन्तव्य राखेका थिए । उनले अरू कुनै पनि राजनीतिक पार्टीबाट देशको विकास र सम्बृध्दि नहुने भन्दै नागरिक उन्मुक्ति पार्टीमा आबध्द भएको बताए । पार्टीका संरक्षक रेशम चौधरी आफ्नो साथी भएकोले पनि मिलेर काम गर्न सहज हुने उनको भनाइ थियो ।
ढकाल २०७४ साउनमा कोषको सदस्य सचिव नियुक्त भएका थिए । तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका जितेन्द्र देवले उनलाई नियुक्ति दिएका हुन् । लोकतान्त्रिक फोरम काँग्रेसमा विलय भएपछि निस्क्रिय रहेका ढकाल अन्तत: रेशमको पार्टीमा गएका छन् । उनी बर्दिया क्षेत्र नम्बर -२ का स्थायी वासिन्दा हुन् ।
टिप्पणीहरू