सिट बाँडफाँटमा दुई दिनभित्र जुट्न कति सम्भव होला सहमति ?

सिट बाँडफाँटमा दुई दिनभित्र जुट्न कति सम्भव होला सहमति ?

सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरू झनै सकसमा परेका छन् । हिजो राति १० बजेसम्म छलफलमा जुटेका शीर्ष नेताहरूले नै गाँठो फुकाउन नसकेपछि दुई दिनको भाका राखिएको छ। चाँडै सिट बाँडफाँट टुङ्गोमा पुर्‍याएर चुनावमा होमिनु पर्ने भए पनि कुरा मिल्न नसक्दा गठबन्धन सकसमा परेको हो ।

बिहानदेखि राती अबेरसम्म बसेको गठबन्धनको बैठकले दुई दिनभित्र सिट बाँडफाँट सक्ने सहमति जुटाएको छ । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रूपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारको प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकार गठन गर्न गठबन्धन गरेका काँग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,जसपा र राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत गठबन्धन गरेर जाने मोडालिटी खोज्न कार्यदल नै बनाएका छन् । तर सो कार्यदलले कुनै पनि सहमति जुटाउन सकेन।

नेपाली काँग्रेसले ९० सिटलाई आफ्नो बटमलाइन बनाएको छ भने माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आ-आफ्नो दाबी पेस गर्दा सिट सङ्ख्यामा कुरा मिल्न सकेको छैन ।

स्थानीय निर्वाचनको परिणामलाई हेर्दा काँग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो रहेको र यस हिसाबले काँग्रेसले धेरै सिट छाडेर अरूलाई धेरै दिन नहुने कुरा काँग्रेस नेताहरूले बताइरहेका छन् ।

टिप्पणीहरू