श्रीमान्काे नाम र आफ्नो थर फेर्ने सैयौं
रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई अचेल पहिलो श्रीमान्काे नाम हटाई दोस्रोको नाम कायम गर्ने गरी आउनेको नागरिकतामा सही गरेरै भ्याइ नभ्याइ छ ।
अघिल्लो आर्थिक वर्ष उनले एक हजार ८१० वटा यस्ता नागरिकता जारी भएको जानकारी दिए । सो वर्ष सात हजार ३९४ वटा नयाँ र तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो ।
जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये ६० प्रतिशतमा पहिलो श्रीमान्काे नाम हटाई दोस्रोको नाम कायम गरिएका छन् । सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ । थर सच्याउनेको संख्या पनि बर्सेनि बढिरहेको छ । हरेक वर्ष झण्डै ५० जनाले थर सच्याउने गरेका छन् ।
दलितलाई होच्याउने खालका थर भएकाहरू नागरिकताको प्रमाण पत्रमा संशोधन निम्ति आउन थालेको सापकोटाले बताए । दमाइएबाट परियार, कामीबाट विश्वकर्मालगायत थर सच्याउनका लागि निवेदन आउने गरेको छ ।
अन्तरजातीय विवाह गर्नेहरूले श्रीमतीको दबाबमा थर परिवर्तन गरेको समेत पाइएको छ । प्रेम विवाह गर्ने त्यस्ता महिलाले श्रीमान्, आफू र सन्ततीको नागरिकतामा दलित शब्द नहोस् भनेर परिवर्तन गरेको उनको भनाइ छ ।
होटल व्यवसाय गर्ने दलितहरू पनि थर परिवर्तन गर्न आउने गर्छन् । दलित भनेर परिचय दिँदा नास्ता र खाना खान नआउने समस्या छ ।
टिप्पणीहरू