गुट अर्कै पर्दा फेरियो कोठा, बसेनन् कुर्सीमा

गुट अर्कै पर्दा फेरियो कोठा, बसेनन् कुर्सीमा

आफ्नै पार्टीका पूर्वमेयर भीम पराजुलीमाथि दोष खन्याउँदै विराटनगर महानगरपालिकाका वर्तमान मेयर नागेश कोइरालाले सयदिने श्वेतपत्र जारी गरेका छन् । जेठ ९ गते पदभार ग्रहण गरेका कोइरालाले सय दिनमा उल्लेख्य काम गर्न नसक्नुको सबै दोष पूर्वमेयर र उनको टोलीमा रहेका जनप्रतिनिधिलाई दिएका छन् । विराटनगर महानगरको पहिलो कार्यकाल हाल कांग्रेस केन्द्रीय सदस्य रहेका भीम पराजुलीले बहुमतसहित नेतृत्व गरेका थिए । पूर्वमेयर पराजुली देउवा समूहमा छन् । पराजुलीचाहिँ शेखर कोइराला पक्षधर हुन् ।

पराजुलीले महानगरमा नियम मिचेर कर्मचारी भर्ना गर्दा ६ सय ९ जनाको जम्बो टोली भएकाले तलब खुवाउन धौधौ पर्ने गरेको र बेरुजु बढेको छ । तर, कर्मचारीको लस्कर भए पनि अझै महानगरलाई दक्ष कर्मचारी अभाव छ । महानगरको ऐलानी जग्गा जथाभावी बाँड्दा सार्वजनिक तथा खुला स्थान, पार्क र उद्यानका लागि स्थान अभाव भएको मेयर कोइरालाले आरोप लगाएका छन् । यसैगरी, महानगरका सरसफाइमा पर्याप्त उपकरण नभएको, भएकाहरू पनि बिग्रिएर थन्किएकाले फोहोरमैला व्यवस्थापन गर्न चुनौती बनेको छ ।

पाँच वर्षमा ८३ वटा ऐन, नियम, कार्यविधि, दिग्दर्शन, निर्देशिका जारी गरे पनि कार्यान्वयन हुन नसक्दा कागजी खोस्टो मात्रै भएको छ । करदाताको खर्च भए पनि महानगरमा वारुण यन्त्र सेवा प्रभावकारी हुन नसकेको र गत पाँच वर्षमा वित्तीय स्रोतको अनुमान र यथार्थबीच ठूलो खाडल देखापर्दा राजश्व संकलन न्यून भएको मेयर कोइरालाले जारी श्वेतपत्रमा उल्लेख गरेका छन् । यसैगरी विकास निर्माण कार्यमा उपभोक्ता समिति र ठेकेदारबीच मिलेमतो भएको, अधिकांश निर्माण अधुरै रहेको पनि आरोप लगाएका छन् ।

मेयर कोइरालाले आवधिक योजना तथा क्षेत्रगत योजना तर्जुमाबिना सञ्चालन गरिँदा विकासका ठोस उपलब्धि हासिल हुन नसकेको, शैक्षिक र स्वास्थ्य सेवा पनि चुनौतीपूर्ण बनेको बताएका छन् । महानगरको विपद व्यवस्थापनसम्बन्धी स्थायी सवल संयन्त्रको स्थापना नभएदेखि उपभोक्ता हित, भित्री सडक निर्माण, शौचालय व्यवस्थापन, ढल निकास, ठूला आयोजना पनि अलपत्र भएको जारी श्वेतपत्रमा उल्लेख छ । यति मात्र नभई महानगरभित्र विगतदेखिकै ६ वटा खेलमैदानको मर्मतसम्भार र रेखदेख नहुँदा रंगशाला जीर्ण हँुदै गएको र निर्माणाधीन पशुबधशाला पनि अलपत्र परेको दोष वर्तमान मेयर कोइरालाले लगाएका छन् ।

शेखर कोइराला क्याम्पका नागेश विराटनगर महानगरको मेयर निर्वाचित भएपछि पूर्वमेयर पराजुली बसेको कार्यकक्षमा बस्न मात्र नभएर पस्न पनि चाहेनन् । आफ्नालागि अलग्गै कार्यकक्ष बनाउन लगाएका थिए । लाखाँै खर्चेर नयाँ कोठा, नयाँ महँगा फर्निचर र आकर्षक रंगरोगनसहित निर्माण गरेको पूर्वमेयर पराजुलीको वातानुकूलित कोठामा चाहिँ उपमेयर शिल्पा कार्की बस्दै आएकी छन् । यसले एउटै पार्टीका भए पनि पूर्व मेयर पराजुली र वर्तमान मेयर कोइरालाबीच गहिरो राजनीतिक ‘इगो’ रहेको र आन्तरिक शीतयुद्ध चलिरहेको प्रस्ट भएको छ ।

टिप्पणीहरू