रामकुमारीको सक्रियता जिल्लामा, प्रधानमन्त्री र प्रचण्डबाट वचन प्राप्तीको खुलासा

रामकुमारीको सक्रियता जिल्लामा, प्रधानमन्त्री र प्रचण्डबाट वचन प्राप्तीको खुलासा

-ऋषि भट्टराई

आसन्न संघीय निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट गुल्मी-२ मा नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री उम्मेदवार बन्ने चर्चा चलेलगत्तै गृह जिल्लाको दौडधुप बाक्लिएको छ । लामो समयपछि यस पटकको तीजमा आफ्नो गाउँठाउँका दिदीबहिनीसँग रमाएकी उनी भदौ ३ गते अगुवा कार्यकर्ता भेलामा तम्घास पुगेर निर्वाचन क्षेत्रमा खटेकी छन् ।

गत स्थानीय निर्वाचनमा गुल्मी २ का ४३ वटा वडामध्ये २६ वटामा गठबन्धनले जित निकालेको थियो । मदाने,मालिका र इस्मा गाउँपालिका जस्ता एमालेका किल्ला भत्किएका छन् भने धुर्कोट गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएको थियो । त्यहाँको बाहेक समग्रमा गठबन्धन एक हजार छ सय ९७ मतले अगाडि देखिएको छ ।

गुल्मी काँग्रेसभित्र प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले झाँक्रीलाई टिकट दिने आश्वासन दिएर गुल्मी पठाएको चर्चा व्याप्त छ । यसबारे जनआस्थाले राखेको जिज्ञासामा झाँक्रीले स्वीकार्दै भनिन्, ‘आफ्नो पार्टिबाट सिफारिस हुने कुरा स्वाभाविक नै हो । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डबाट पनि वचन पाएको छुु ।’अर्को प्रसङ्गमा उनले अहिले जिल्लाबाट गठबन्धनभित्रका पार्टीबाट सिफारिस भएका नामलाई स्वाभाविक भन्दै, ‘जुन उद्देश्यका साथ गठबन्धन भएको हो,त्यसको मर्मभन्दा बाहिर जाने अवस्था नरहेको र गठबन्धनबाट हुने जुनसुकै निर्णय सबैले स्वीकार्नुको विकल्प नभएको,’ बताइन् । केन्द्रको निर्णय नै अन्तिम हुने काँग्रेस सभापति खिलध्वज पन्थीले उल्लेख गरे ।

गुल्मी २ को एमाले कार्यकर्ता पंक्तिमा पनि आगामी चुनावमा नयाँ अनुहार आउनुपर्ने आवाज उठ्न थालेको बताइन्छ । गोकर्ण बिष्टले जितेको यो ठाउँमा केन्द्रीय सदस्य राजेन्द्र अर्यालसमेत इच्छुक देखिएकाले स्थानीय एमालेभित्र आन्तरिक छलफल र भेटघाटले तीब्रता लिएको छ ।

टिप्पणीहरू