माननीय नवराज सिलवालको नाम पनि मीटरब्याज काण्डमा

माननीय नवराज सिलवालको नाम पनि मीटरब्याज काण्डमा

नेपाल प्रहरीका पूर्व डिआइजी तथा एमाले सांसद नवराज सिलवाल पनि मीटरब्याजमा संलग्न भएको आरोप लागेको छ । नेकपा एमाले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ ले नेपाली काँग्रेसले लगाएको उक्त आरोपमा कुनै सत्यता नभएको बताएपछि सिलवाल र मीटरब्याजको थप चर्चा भएको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद सिलवालको नाम मीटरब्याजीमा किटान गरेर नेपाली काँग्रेसले आफ्नो लेटरप्याडमा उल्लेख गरेको विषयलाई एमालेले राज्यसत्ताको आडमा गरिएको धम्कीपूर्ण कार्य भनेको छ । ‘राज्यसत्ताको आडमा धम्कीपूर्ण भाषा प्रयोग गरी निकालिएको विज्ञप्तिप्रति नेकपा एमाले ललितपुर १ नम्बर निर्वाचन क्षेत्रभित्रका चारवटै पालिका कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ,’ एमालेको भनाइ छ ।

नेपाली काँग्रेसले निर्वाचित सांसदको तेजोबध गर्न गलत पध्दतिको सहारा लिएको एमालेले दोष लगाएको छ । उसले एमाले जनप्रतिनिधिविरुध्द भएका र गरिएका अनेकौं षड्यन्त्र, कपोलकल्पित दुष्प्रचार एवम् योजनाबध्द आक्रमणको सिलसिला रोकेर जनमतको सम्मान गर्न काँग्रेसलाई आग्रह गरेको छ ।

‘राष्ट्रिय राजनीतिमा लामो सहयात्रा गर्दै आएको दल नेपाली काँग्रेसको यस किसिमको अराजक र अराजनीतिक क्रियाकलाप दुःखद् एवम् निन्दनीय छ,’ एमालेले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष प्रभाकर थापा, कोन्ज्योसोमपालिका कमिटीका अध्यक्ष कविन्द्रकुमार लामा, महाँकाल पालिका कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईं र बागमती पालिका कमिटीका अध्यक्ष नवराज सञ्जेलले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू