इलामबाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस
नेकपा एमाले इलामले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत् उम्मेद्वार सिफारिस गरेको छ ।
हिजो देउमाई नगरपालिकाको मंगलबारेमा सम्पन्न नेकपा एमालेको क्षेत्रीय बैठकले नेम्वाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको बताइएको छ । नेम्वाङ यसअघि इलामबाट चार पटक निरन्तर विजयी हुनुभएको छ ।
उहाँलाई एमालेले पाँचौं पटक पुनः उम्मेदवार बनाउन लागेको हो । संविधानसभाका अध्यक्ष नेम्वाङ शालिन र भद्र नेताको रुपमा परिचित छन् ।
यता नेपाली काँग्रेसबाट भने इलाम क्षेत्र नम्बर २ मा सात जनालाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, रमेश लिङ्दम र सुजाता परियारलाई सिफारिस गरिएको छ ।
इलाममा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ मा झलनाथ खनाल निर्वाचन लड्ने भएपछि क्षेत्र नम्बर २ नेपाली काँग्रेसको भागमा परेको छ । खनालसँग नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिस्पर्धा हुने भएको छ ।
टिप्पणीहरू