‘पाकिस्तान ट्रेड फेयर’ असोज पहिलो साता
पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी हुने भएको छ । उक्त प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा हुने जनाइएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा रहेको डिइसीसीमा असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना गर्ने तयारी थालिएको छ ।
पाकिस्तान तथा नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्ता, तन्दा, जुत्ता–चप्पल, नक्कली गरगहनालगायत सामग्री राखिने छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपालले जनाएको छ ।
यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल, व्यापार प्रवद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बंगलादेशका स्टल रहने बताइएको छ ।
काठमाडौँस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौँमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको जनाइएको छ । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानहरूको सहभागिता रहने छ ।






टिप्पणीहरू