भारतीय सेनाध्यक्ष आज आउने,मुक्तिनाथ र स्याङ्ग्बोचे पनि जाने
भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिनको नेपाल भ्रमणमा आज अपरान्ह आउँदै हुनुहुन्छ । एअर इण्डियाको उडानबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाका तीन तारे जर्नेल बालकृष्ण कार्कीले स्वागत गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार भ्रमणदलको निम्ति मुख्य सम्पर्क अधिकृतको रुपमा दुई तारे जर्नेल प्रेमध्वज अधिकारीलाई सेनाले खटाएको छ । त्यसैगरी सेनाध्यक्ष पाण्डेकी जीवनसंगिनी अर्चनाको निम्ति महिला सम्पर्क अधिकृतको रुपमा मेजर कृति देवानलाई जिम्मेवारी तोकिएको छ ।
भारतीय सेनाध्यक्ष पाण्डे आगामी बिहीबार दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम छ । सेनाको पाहुना टोलीमा दुई तारे जर्नेल अनिल चन्डेल र एक तारे जर्नेल मुकेश शर्माका साथै कर्नेल मन्दिप सिंह पनि रहेको बुझिएको छ ।
भारतीय सेनाध्यक्षले पर्सि मंगलबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । भारतीय सेनाको पाहुना टोली माउण्टेन फ्लाइटमा स्याङ्बोचे र बुधवार बिहान मुक्तिनाथ जाने बताइएको छ ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने छ । पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रध्दाञ्जली अर्पण गर्ने र उहाँले जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने र भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने एपिसीलगायत विविध सामग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । उहाँले कमाण्ड तथा स्टाफ कलेज,टोखाका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू