जापानको प्रलोभनमा लाखौं ठग्ने महिला फेला
सर्वसाधारणलाई जापान पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगेको आरोपमा एक महिला समातिएकी छन् । उनलाई काठमाडौंको सुविधानगरबाट पक्राउ गरिएको हो ।
मोरङको रतुवामाई नगरपालिका ९ स्थायी घर भई ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बाले सिलास रम्तेललाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा जापान पठाइदिने भन्दै ठगेकी थिइन् । रम्तेलसँग १३ लाख रुपैयाँ लिएपछि उनी बेपत्ता भएकी हुन् ।
मासिक तीन लाख तलब हुने आश्वासनमा उनले उक्त रकम ठगेकी हुन् । रम्तेलको उजुरीको आधारमा वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुब्बालाई आज सुविधानगरबाट नियन्त्रणमा लिएको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाइएको छ ।
टिप्पणीहरू