रत्नपार्कमा चल्ने यो धन्दाको विकल्प के त ?

रत्नपार्कमा चल्ने यो धन्दाको विकल्प के त ?

– अधिवक्ता प्रेमराज सिलवाल

राजधानी काठमाडौंको रत्नपार्क अति व्यस्त स्थानमध्ये पर्छ । मान्छेहरूको भागदौड आ–आफ्ना गन्तव्यतर्फ । माइक्रोले कराउँछ एकातर्फ–‘ल ल सीट खाली, लगनखेल, एयरपोर्ट, गोंगबु, कलंकी, महाराजगञ्ज, भैंसेपाटी, चुच्चेपाटी, स्युचाटार, गल्छीटार, पुरानोपुल, रातोपुल, कालोपुल, भत्केको पुल।।।।’ आदि । अर्कोतर्फ पठाओ, टुटलरजस्ता मोटरसाइकलको ताँती लाग्ने गरेको छ । मान्छे बोक्ने । मान्छे ओसार्ने । मान्छे थचार्ने सबैको केन्द्र बन्दै छ रत्नपार्क ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएको बेला रत्नपार्क जुलुश लगाउनेको केन्द्र थियो । पुलिस र प्रदर्शनकारीको खुबै लुकामारी चल्थ्यो । प्रदर्शनकारीले सके नाराबाजी गर्ने, ढुंगा बर्साउने । प्रहरीले सके भाटे कारबाही गर्ने र भ्यानमा भटाभट कोच्ने । लोकतन्त्र आएपछिका केही दिन प्रहरी र माइक्रोबसवालाको सिंगौरी खेल्ने ठाउँ यही रत्नपार्क बन्यो । अर्थात् ड्राइभरलाई रिस उठ्यो कि माइक्रो तेस्र्याउने । बाटो बन्द गर्ने । लोकतन्त्र माइक्रोवालालाई नै आएजस्तो भयो केही महिना । मान्छेहरू आजित भए ।

अहिले फेरि अन्य कारणले पनि रत्नपार्क नै तात्तातो बहसमा छ । जहाँ दैनिक देखिन्छ– ठोकाठोक र जोखाजोख । नगरप्रहरीले मकै पोल्नेवाला–वालीदेखि जुत्ता पालिस गर्नेसम्म र मोजा बेच्नेदेखि लिएर मोबाइलका खोल बेच्नेसम्मलाई सडकपेटीमा व्यापार गर्न सामान तेर्साएको भन्दै, भाटैभाटाले गोद्दै ठोकाठोक गर्ने गरेको छ । दुई चार सय आम्दानी होला र बेलुकीको छाक टारूला भन्ने प्लास्टिके व्यवसायी र नगरप्रहरीबीचको ठोकाठोक र खोसाखोस हेर्न रमिते र तमाशेहरूको लाइन देखिन्छ । लामो समयदेखि यस्तै चल्दै आएको छ काठमाडौंमा । त्यसमाथि बालेन साहको डोजर आतंक त्यहीं छ । त्यसैले काठमाडौं महानगरपालिकाले बेलुकी ६ बजेपछि मात्र पेटीमा बेच्न दिने भन्दै आएको भए पनि कुनाकानीमा प्लाष्टिक ओच्छाएर व्यापारीहरू प्रहरीको आँखा छल्दै सामान बिक्रीमा देखिन्छन् ।

तर, प्रहरी पनि झुक्याएर झ्यापझ्यापी आउने र कर्याप्पझ्याप बनाउने गर्दै छ । यहाँ दैनिक हुने ठोकाठोक र भागाभागले काठमाडौंमा दैनिक बाह्रमासे गाईजात्राको जस्तो मनोरञ्जन दिने गरेको छ । तर, रत्नपार्कमै अर्को एउटा पेशा र व्यापार मज्जाले फस्टाएको छ । जहाँ नगरप्रहरीले ठोकाठोक गर्दैन र गर्ने आवश्यकता पनि देख्दैन । कानुनले पनि देख्नेबित्तिकै भाटाले ठोक्ने अधिकार दिएको छैन । जुन पेशा वर्षौदेखि खुसुखुसु होइन खुलेआम चल्दै आएको छ । दैनिक हुन्छ जोखाजोख । मोलमोलाई । त्यो बढ्दै गएको पेशा हो–देहव्यापार । अर्थात् यौनपेशा । काठमाडौंको रत्नपार्कमा देखादेखी र खुलेआम हुन्छ जोखाजोख । ‘कतिमा जाने ?’ ‘१५ सय मलाई । गेष्ट हाउसको कोठाको ३ सय भए हुन्छ ।’ ‘घटाउन मिल्दैन ?’ ‘साग हो र कहाँ के घटाउनु ?’ यसरी दैनिक मोलमोलाई हुन्छ ।

जोखाजोख रत्नपार्कमात्र होइन, देशका अधिकांश शहरमा हुन्छ । काठमाडौंमा पनि पुरानो बसपार्कदेखि नयाँ बसपार्क, बागबजार, कलंकीदेखि धेरैतिर जोखाजोखको धन्दा चल्छ । अर्कोतर्फ खुलेआम नगरी भित्रभित्रै गर्नेहरूको संख्या हजारौंमा रहेको अनुमान गरिन्छ । यसरी भित्री हिसाबले जोख्नेहरूमा अनेक आवरण, पेशा, उमेर, क्षेत्र, जाति, भूगोलका १४ देखि ५० वर्षसम्मका महिलाहरू रहेका देखिन्छन् । जोखीजोखी र खोजीखोजी ग्राहक बन्न जानेहरूमा नेता, प्रहरी, सेना, व्यापारी, कर्मचारीदेखि वैदेशिक रोजगारीमा जाने वा गएर फर्केकाहरू बढी छन्  ।

काठमाडौंको सुन्धाराका होटेलबाट सेवा लिनेमा बढी जिल्लाका नेता (स्वघोषित नेता–समाजसेवी) र विदेश जाने–आउनेहरू रहेका छन् । पंक्तिकारले सोधीखोजी अनुसन्धाननिम्ति गरेको प्रश्नमा रत्नपार्कमा ग्राहक कुरी बसेकी एक २२ वर्षीया युवतीले भनिन्, ‘आउनुहोस्, सबै प्रकारले सन्तुष्ट पारिदिन्छु । ढाल लगाएर वा नलगाएर त्यो तपाईंको मर्जी ।’ आधा दर्जन अधवैंशे केटीहरू स्कुटी लिएर रत्नपार्क वरिपरि ग्राहकको खोजीमा जोखाजोख गर्दै पेशा चलाउँदछन् । एउटी स्कुटीवालीले भनिन्, ‘गेष्ट हाउसमा भए पनि हुन्छ, तपाईंले भनेको ठाउ“मा पनि जान्छु । होलनाइट पनि जान्छु, शुल्क अलि बढी चाहिन्छ ।’

रत्नपार्कको यस्तो खोसाखोस, ठोकाठोक र जोखाजोखको धन्दाले नेपाली शहरिया जीवनमा अनेकौं सामाजिक, कानुनी, व्यावहारिक, आर्थिक, नैतिक, राजनीतिक तथा रोजगारीसंग सम्बन्धित अनेकौं समस्या थुप्रिएका छन् । कोही पनि रहरले र खुशीले चाहिँ रत्नपार्कको ठोकाठोक, खोसाखोस र जोखाजोखमा आउँदैन । यसमा राज्य र समाजसंग जोडिएका अनेकौं सवाल र चुनौती थपिएका छन् । प्रहरीले लौरी लाएर र खोसाखोस मात्र गरेर पनि समस्या समाधानचाहिँ हुने होइन ।

कानुन विपरित जहाँसुकै र जेसुकै पेशा गर्न पाइन्न । त्यो रोक्नु पनि पर्दछ । तथापि नेपाली राज्य प्रणाली र राजनीतिक नेतृत्वका अघिल्तिर अनेकौं प्रश्न उठेको छ । आखिर किन र कसरी त्यस्तो अवस्थामा हाम्रा नेपाली दाजुभाइ र दिदीबहिनीहरू पुग्दैछन् रु किन, कसरी ती समस्या बढ्दै गएका छन् रु संविधानमा उल्लिखित सामाजिक न्याय, रोजगारीको अधिकार, पेशा र व्यापारको अधिकार तथा जीवन बाच्नको लागि आवश्यक पर्ने न्यूनतम खाना, नाना र छानाको पूर्ति कसले गरिदिने हो त ? के राज्यको कुनै जिम्मेवारी छैन यस्ता सामाजिक समस्यामा ? यस्ता अनेकौं सवाल पनि स“गै उठ्ने गर्छन् ।

यौनधन्दा विश्वका धेरै देशमा चल्ने गरेको छ । भारतको दिल्ली, बम्बई, कोलकाता, थाइल्याण्डको बैंकक र अन्य शहरहरू, ब्राजिल, इण्डोनेशिया, मलेसिया, बेलायतलगायत अनेकौं देश र स्थानहरूमा वेश्यावृत्ति हुँदै आएका छन् । यसै कारण वेश्यावृत्तिलाई कानुनी मान्यता दिनुपर्ने आवाजसमेत उठ्छन् । कतिपय देशमा यौनधन्दा निश्चित क्षेत्रमा गर्ने गरी कानुनी मान्यता दिइएका छन् ।

अर्कोतर्फ रत्नपार्के जोखाजोखवाला बेश्यावृत्तिको हकमा यस्ता कुरा उठेपनि ठूला र सम्भ्रान्त भनिएका अनेकौं आवरण र पेशाको नाममा हुने पांच तारे ‘सुकिला मुुकिला रात्रि धन्दा’को हिसाब किताबै छैन । नेता, प्रहरी, व्यापारी, न्यायाधीश, वकिल आदिलाई यौन प्यास मेटाउन साधन ‘सप्लाई गर्ने’ गिरोह सक्रिय छ । आफ्नो ‘काम पट्याउन’ ‘च्वांकहरू सप्लाई’ गर्नेहरू भित्रभित्रै जोख्ने काम गर्दै छन् । यसमा प्रहरीले समाउने होइन । सुइँको पाउने पनि होइन । रत्नपार्कको पेटीमा बसेकालाई कहिलेकहिले लखेटेजस्तो देखिए पनि पक्रेर थुन्ने प्रमाण खोज्न प्रहरीलाई फुर्सद छैन, जाँगर छैन, आदेश छैन, मालपानी छैन र दामपानी पनि छैन ।

यसैले प्रहरी प्रशासनको नजरमा रत्नपार्कको यौनधन्दा पर्दैन । परेर पनि केही हुने होइन । यद्यपि, गम्भीर भएर हेर्ने हो भने त्यो विषय यौनकर्मीसंगमात्र गाँसिएको होइन र छैन । त्यो विषय नेपाली राजनीतिक, सामाजिक संरचना र नेपालकोे समग्र विकास तथा यथार्थस“ग जोडिएको चुनौतीपूर्ण विषय हो । यसरी नै खुलेआम रत्नपार्कमा जोखाजोख हुने हो भने भोलिको पुस्ताले त्यसबाट के सिक्ने हो रु त्यसले सामाजिक जीवनमा कस्तो प्रभाव पार्ने हो रु फेरि पनि प्रश्न र सवाल भनेको देश र मुलुक बनाउ“छु भन्ने राजनीतिक नेतृत्वतर्फ औंला सोझिन्छ । रत्नपार्कको ठोकाठोक र जोखाजोखकोे धन्दा कहिले अन्य होला वा रूपान्तरण होला रु यसले नेपाली समाजको अनेकौं वास्तविकता र यथार्थता झल्काइरहेको छ ।

टिप्पणीहरू