इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण: पर्यटनमन्त्री श्रेष्ठ

इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण रहेको बताउनुभएको छ । इन्द्रजात्रा शुरुवातको अवसरमा आज हनुमानढोका पुग्नुभएका मन्त्री श्रेष्ठले उक्त कुरा उल्लेख गर्नुभएको हो । इन्द्रजात्रासँगै अनगिन्ती मूर्त र अमूर्त संस्कृति तथा सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको भनाइ छ ।

मुलुकको सांस्कृतिक धरोहरको रुपमा रहेको इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै मन्त्रीले भन्नुभयो, ‘संस्कृति र सम्पदाहरुलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने कार्ययोजना छ ।’ सांस्कृतिक सम्पदाको प्रवद्र्धनबाट पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उहाँको रोडम्याप छ ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि इन्द्रजात्राको शुरुवात भएको मानिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै पर्व मनाउने गरिन्छ ।

टिप्पणीहरू