कमल थापाको मकवानपुर ‘ग्राउण्ड’, ओलीको ग्रीन ‘सिग्नल’ !
अप्ठेरो परिस्थितिमासमेत शाहीकालमा ज्ञानेन्द्रको साथमा रहेर गृह मन्त्रालय सम्हालेका कमल थापा अहिले गृहनगर हेटौँडामा पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष थापा सरकारले मंसीर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपछि मकवानपुरमा बढेको चुनावी सरगर्मीमा मिसिन संघीय राजधानी काठमाडौँबाट हेटौँडा ओर्लेका हुन् ।
आगामी शनिबार पार्टी निकट भ्रातृ संगठनको भेलालाई सम्बोधन गर्ने र त्यसअघि थुप्रै अनौपचारिक भेटघाट, अन्तरक्रिया तथा छलफललाई थापाले निरन्तरता दिने सहमहामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।
‘अहिले एकैदिन दुई सयभन्दा बढी व्यक्तिलाई उहाँले भेट गर्नु भएको छ’, बर्ताैलाले भने–‘पुराना कार्यकर्ता, पूर्व जनप्रतिनिधि, पार्टी छाडेर अन्यत्र गएका व्यक्तित्वलगायत सबैसँग उहाँको गहन छलफल र भेटघाट चलिरहेको छ ।’ हेटौँडा ५ स्थित आफ्नै आश्रममा रहनु भएका थापा फुर्सदको समयमा भने पालिएका गाईको सेवामा जुट्ने गरेका छन् ।
स्रोतका अनुसार मकवानपुर क्षेत्र नम्बर १ बाट यस पटक निर्वाचनमा विजयी हुने बलियो तयारीका साथ थापा हेटौँडा ओर्लेका छन् । राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर सोही पार्टीको नेतृत्व गरिरहेका छन् । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारमा केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका थापा यसपटक पनि अध्यक्ष ओलीकै भरोसामा रहेको देखिन्छ ।
वर्षाैंदेखि सँगै काम गरेका दीपकबहादुर सिंह, मधु अधिकारी, खिलप्रसाद चौलागाईलगायत यतिखेर थापाको साथमा छैनन् । तर पनि जीवनकै अन्तिम निर्वाचनको रुपमा यस पटकको निर्वाचनमा होमिन ओलीको ‘ग्रीन सिग्नल’ पाएपछि उत्साहित भएर थापाले हेटौँडामा राजनीतिक खिचडी पकाइरहेको राप्रपाका नेता तथा कार्यकर्ता बताउँछन्
एकातिर सत्ताधारी गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायको चर्चा भइरहेको छ । सोही क्षेत्रमा एमालेका रामेश्वर राना, कृष्ण दाहाल, मदन दाहाललगायतको कुरो आइरहेको छ । तर बालकोटको ‘ग्रीन सिग्नल’ सफल भएमा ती उम्मेदवारहरु फिर्ता हुनुपर्ने अवस्था पनि छ ।
२०७४ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा थापा नेकपा एमालेका नेता कृष्णप्रसाद दाहालसँग तेस्रो पटक पराजित भएका थिए । वाम गठबन्धनमा माओवादी र एमाले मिलेर चुनाव लडेका बेला दाहालले पाँच हजार ९७३ बढी मत ल्याई थापालाई पराजित गरेका थिए । काँग्रेसको समर्थनमा थापाले ३४ हजार ६५८ मत ल्याउँदा दाहालले ४० हजार ६३१ मत प्राप्त गरेका थिए । थापालाई २०४८ र २०५६ को आम निर्वाचनमा पनि दाहालले पराजित गरेका थिए ।
यस पटक आफूले लामो संगत गरेका साथीहरु नै थापासँग छैनन् । त्यसो त उनको पार्टीको ब्राण्ड मानिएको हलो वा गाई चुनाव चिन्ह पनि उनीसँग छैन । तैपनि उनी निकै आँटका साथ बागमती प्रदेशको राजधानीमा चुनावी मैदानमा छिरेका छन् । खेलकुद पृष्ठभूमिका ६७ वर्षीय थापालाई राजनीतिका चतुर खेलाडी भन्ने गरिएको छ ।
मकवानपुरबाट पटक पटक चुनाव हारे पनि २०५२ मा कानून न्याय, संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री, २०५४ मा परराष्ट्र र कृषिमन्त्री, २०६० मा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री, २०७२ मा परराष्ट्र र स्थानीय विकास मन्त्री, २०७४ मा परराष्ट्र मन्त्री भएका थिए । पञ्चायती व्यवस्थाका पक्षधर थापा गृहमन्त्री हुँदा तत्कालीन सशस्त्र द्वन्द्व गरिरहेको माओवादीसँग वार्ता भएको थियो ।
जनआन्दोलन चलिरहँदा पनि सत्ताको व्यापक दुरुपयोग गरी आन्दोलन दबाएको, १९ जना आन्दोलनकारी मारेको, घाइते बनाएकोलगायत विषयमा थापालाई दोषी बनाइएको थियो । तर, लोकतन्त्र र गणतन्त्रका लागि युद्ध लड्ने एवम् शान्तिपूर्ण आन्दोलनबाट राजतन्त्रलाई खरानी बनाउने दलहरुकै सहयात्रीका रुपमा थापाले काम गरेको आरोप राजावादीहरुको छ ।
यसपटक अन्तिम चुनाव भनेर ‘इमोसनल’ प्रचार गरिएको छ । अध्यक्ष ओलीको आशिर्वाद प्राप्त भएमा उनको यस पटकको चुनाव जित्ने दाउ सम्भवका थुप्रै सम्भावनाहरु जीवितै रहेको राजनीतिक वृत्तमा अनुमान छ । उनी आफैँ उम्मेदवार बनेर आउँदा लिङ्देन नेतृत्वको राप्रपाले सघाउने र पार्टी छाडेर गएकाहरुले आन्तरिक सहयोग गर्ने वातावरण बन्ने विश्वास थापाको सचिवालयले लिएको छ ।
टिप्पणीहरू