समाजवादीका पत्रकार नेताले बालकोटमा खादा लगाए
गत वर्ष एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ पुरानै घर फर्केका छन् । आज एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीको हातबाट खादा र माला लगाई उनी एमालेमा फर्किएका हुन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका चापागाईँ सो पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाका सहइन्चार्ज थिए । ति सबै जिम्मेवारी छोडेर एमाले रोज्ने निर्णय गरेको बालकोटबाट घोषणा गरे ।
एमालेमै फर्केपछि चापागाईंले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्नसक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।
मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।
चापागाईँ रुपन्देहीको बुटवल निवासी हुन् । एमालेको राजनीतिक छत्रछाँयामा रहेर उनले लामो समयदेखि पत्रकारिता गर्दै आएका थिए ।
टिप्पणीहरू