चोलेन्द्र समशेरले पोलेका सबैलाई सिंहदरबार झिकाइने
प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश,अधिवक्ता, राजनीतिज्ञलाई साेधपुछका लागि बोलाउने भएको छ ।
आज बसेको समिति बैठकले राणाले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा सोधपुछका लागि झिकाउने निर्णय गरेको हो । राणाले बयानका क्रममा ठेक्कापट्टा,भ्रष्टाचार, अनियमितता,घुसखोरी, भनसुन,न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
निलम्बित प्रधानन्यायाधीश राणाले एमाले अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु पौडेल,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना,सर्वाेच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की,बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ,वरिष्ठ अधिवक्ता शम्भु थापा,अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछेका थिए ।
गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका राणासँग समितिले बयान लिने क्रम चलिरहेको छ ।
समितिले आजै राणाको बयान सकेर प्रतिवेदन लेखनमा केन्द्रित हुने र यथासम्भव प्रतिनिधिसभाको यही कार्यकालबाट महाभियोग निष्कर्षमा पुर्याउने तयारी गरेको छ।
टिप्पणीहरू