प्रदीप पौडेलसँग गलफत्ती नभएको खानेपानी मन्त्रीको दावी

प्रदीप पौडेलसँग गलफत्ती नभएको खानेपानी मन्त्रीको दावी

गत शुक्रवार जनआस्था अनलाइनमा प्रकाशित ‘एकाबिहानै मन्त्री क्वार्टरको गोप्य कोठामा नेता र मन्त्रीबीच गलफत्ती’ शीर्षकको समाचारप्रति खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ । ‘तथ्यहीन समाचार’ भन्दै उहाँले लिखित खण्डन गर्नुभएको छ ।

समाचारमा मन्त्री चौधरी र काँग्रेस नेता प्रदीप पौडेलबीच पुल्चोकस्थित मन्त्री क्वार्टरमा अस्वाभाविक कुराकानी भएको उल्लेख छ । उहाँहरुबीच भएको संवादको समय, स्थान र परिवेशसमेत किटान गरी लेखिएको समाचारप्रति मन्त्री चौधरीले चर्को असन्तुष्टी जनाउँदै खण्डन गर्नुभएको हो । स्थानीय चुनावताकाको अन्तर्घातनिम्ति बारा काङ्ग्रेसद्वारा साधारण सदस्यताबाट हिजै निलम्बित उहाँले आफू र युवा नेता पौडेलबीच सुमधुर सम्बन्ध रहेको र समाचारमा भनिएजस्तो शंका गर्नुपर्ने कुनै छलफल नभएको बताउनुभएको छ ।

समाचारको सत्यतामाथि प्रश्न उठाउँदै चौधरीले कांग्रेसका नेता–कार्यकर्ता र आमपाठकलाई कुनै पनि भ्रममा नपर्न आग्रहसमेत गर्नुभएको छ । ‘कपोकल्पित, भ्रामक र आधारहिन समाचारले नेपाली कांग्रेसका जिम्मेवार नेता साथै पार्टीको निर्देशनमा नैतिकमूल्यमा आधारित रही काम गरिरहेका मलाईसमेत जोडेर प्रकाशित समाचारको खण्डन प्रकाशन गरिदिनु हुन अनुरोध गर्दछु’,खण्डनमा भनिएको छ ।

मन्त्री चौधरीले उक्त समाचारको खण्डन गरे पनि जनआस्था सम्पादन समूह आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छ । उहाँले टेलिफोनमा कुरा गर्दा सामान्य असहमति पोखिएको तर हात हालाहालकै स्थितिचाहिँ त्यसदिन नआएको स्वीकार्नुभएको छ ।

टिप्पणीहरू