सशस्त्रमा एआइजीको नयाँ दरबन्दी थपियो

सशस्त्रमा एआइजीको नयाँ दरबन्दी थपियो

सरकारले सशस्त्र प्रहरी बल, नेपालमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थपेको छ । मन्त्रिपरिषद्को भदौ २१ गतेको निर्णयानुसार उक्त निर्णय गरिएको तर यससम्बन्धी निर्णय भने हिजो मात्र हल्चोक पुगेको बताइएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयअन्तर्गत विद्यमान कार्य तथा सीमा सुरक्षा विभागलाई विभाजन गरी दुबै विभागको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षकले गर्ने गरी साधारण समूह र उपसमूहतर्फ एआइजीको एउटा दरबन्दी थप्ने निर्णय गरिएको हो । २१ गतेको क्याबिनेट निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,राष्ट्रिय किताबखाना नयाँ एआइजी मातहतका सबै दरवन्दी हिजो २७ गते मिलान गरेको छ ।

यसरी हिजै जारी आन्तरिक परिपत्रमा भनिएको छ,‘कार्यालय, दरबन्दी संरचना र पद दर्ता भई आएको र नयाँ स्वीकृत दरबन्दी संरचना देहायअनुसार रहेको हुँदा आवश्यक कार्यार्थ अनुरोध छ ।’
नयाँ दरबन्दीअनुसार अब कार्य र सीमा सुरक्षा विभागमा क्रमशः चार सय ७२ र ७६ जनाको दरबन्दी हुनेछ । जसमा एआइजी एक जना हुनेछन् ।

सशस्त्र प्रहरी बलको स्वीकृत कूल दर्जागत संख्या अब ३७ हजार ५५ पुगेको छ । त्यसमध्ये महानिरीक्षक १ जना,अतिरिक्त महानिरीक्षक ३, नायव महानिरीक्षक १६ र वरिष्ठ उपरीक्षक २६,उपरीक्षक १०४, नायव उपरीक्षक ३९१ र निरीक्षक ९२७ हुनेछन् । यो नयाँ दरवन्दी बँशी दाहाल (उपत्यका) र किशोर प्रधान (बागमती) मध्ये एक जनाबाट पूर्ति हुनेछ । सशस्त्रमा यसअघि नै ३ वटा डिआइजीको दरवन्दी रिक्त भैसकेको छ ।

टिप्पणीहरू