चोलेन्द्रको दस्तखत नगर्ने अडानपछि बयान वाचन गरेर सुनाईंदै
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफूले दिएको बयानमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । एक सय ७४ पृष्ठको लिखित बयान पूरै नपढी सही नगर्ने उनको अडानपछि अहिले महाभियोग सिफारिस समितिले वाचन गरेर सुनाउने तयारी गरेको छ ।
सबै पृष्ठ पढेर सुनाइसकेपछि हस्ताक्षर गराउने तयारी छ । त्यसका लागि कम्तिमा सात घण्टा लाग्ने समिति सदस्य मीन विश्वकर्माले बताए ।
आजको बैठकमा राणासँग पूरक प्रश्न सोध्ने समितिको तयारी थियो । तर, एमालेका सांसदहरूले पूरक प्रश्न सोध्न नपर्ने अडान लिएका हुन् । समितिमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ११ सांसद छन् ।
हिजो समितिले राणाले मुछेका वकिलहरूसँग छलफल गरेको थियो । उनीहरूसँग सोधिएका प्रश्नको उत्तर महाअभियोग प्रतिवेदनमा उल्लेख गर्ने कि नगर्ने भन्ने निर्णयमा समिति पुगिसकेको छैन ।
टिप्पणीहरू