आफ्नै अधिकार प्रयोगपछि लाखौं राजश्व संकलन

आफ्नै अधिकार प्रयोगपछि लाखौं राजश्व संकलन

मकवानपुरको मनहरी गाउँपालिकाले प्राकृतिक स्रोत माथिको आफ्नो अधिकार प्रयोग गरी राजश्व संकलन थालेको छ । यसअघि जिल्ला समन्वय समिति मकवानपुरको आदेश र निर्देशनबमोजिम मात्रै नदीजन्य वस्तुको अन्तर जिल्ला निकासी गर्दै आइरहेको गाउँपालिकाले भदौ २२ गतेबाट निकासी खुल्ला गरेको छ ।

निकासी खुल्ला भएसँगै मनहरी गाउँपालिकाबाट हिजोआज दैनिक सयौँ ट्रिपर गिटी, बालुवा अन्यत्र लगिएको छ । गाउँपालिकाले निकासी गरिएका नदीजन्य वस्तुबाट दैनिक आठ लाख रुपैयाँको हाराहारीमा राजश्व संकलन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।

संविधानमा प्रदेश सरकारको ४० प्रतिशत र स्थानीय सरकारको ६० प्रतिशत राजश्व बाँडफाँडको व्यवस्था छ । तर, अन्य जिल्लामा नभएको अभ्यास मकवानपुरमा भएको छ । जिल्ला समन्वय समितिले नदीजन्य वस्तुको मौज्दात प्रमाणीकरण गर्ने व्यवस्था छ । प्रमाणित मौज्दातबाट घट्ने गरी निकासी खुल्ला गरिएको बताइएको छ ।

गत जेठ मसान्तसम्म उत्खनन् गरी संकलन गरिएका नदीजन्य वस्तु क्रसर उद्योगहरुले पेलेर बालुवा, गिटी उत्पादन गरे पनि असार, साउन र भदौ महिनामा प्राकृतिक स्रोतको उत्खनन्, उपयोग र ओसार पसार बन्द हुने गर्दछ । तर, उत्खनन् भइसकेका र मौज्दातमा देखिएका नदीजन्य वस्तु निकासी हुँदा राजश्व बढ्ने र प्रकृतिमा कुनै असर नपर्ने देखिएकाले निकासी खुलाइएको गाउँपालिकाले जनाएको छ ।

मनहरी गाउँपालिकामा २५ करोड रुपैयाँ बराबरको राजश्व गिटी, बालुवाबाटै संकलन हुने गरेको छ । तर, गत आर्थिक वर्षमा प्रशासनिक व्यवस्थापन गर्न नसक्दा लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको बताइएको छ ।

टिप्पणीहरू