बाल्यकाल सम्झँदै कमल थापाले मेयरलाई भने : स्याबास बालेन
राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले हराएको टुकुचा पत्ता लगाएकोमा धन्यवाद दिएका हुन् ।
सानो छँदा टुकुचामा पौडी खेलेको सम्झना अहिले पनि ताजा रहेको बताउँदै थापाले ट्विटमार्फत टुकुचा खोलो पत्तो लगाएकोमा स्याबासी दिएका हुन् । काठमाडौँ महानगरले हराएको टुकुचा खोज्ने साहसिक काम गरेको थापाको भनाइ छ ।
‘स्याबास बालेन ! स्याबास सुनिता ! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् । शुभकामना,’ उनले लेखेका छन् ।
हिजो टुकुचा खोला खोज्न जय नेपाल हल अगाडि खनिएको खोलोको फोटो पनि उनले ट्वीटरमा पोष्ट गरेका छन् ।
मेयर बालेन्द्रले शहर व्यवस्थित बनाउने भन्दै महानगरभित्रका अवैध संरचना हटाउने, अव्यवस्थित फुटपाथ व्यापारमा रोक लगाउने अभियान सञ्चालन गर्दै आएका छन् । एमाले नेता महेश बस्नेतलगायत कतिपयले महानगरको अभियानको विरोध गरे पनि आमरुपमा भने प्रशंसा भइरहेको छ ।
अभियानकै दौरान काठमाडौँको मध्य भागबाट बग्ने टुकुचाको प्राकृतिक मार्ग पत्ता लगाई संरक्षण गर्न हिजो त्यहाँ खनिएको हो । राप्रपा अध्यक्ष थापाले त्यसमा समर्थन गर्दै स्टाटस लेखेका हुन् ।
टिप्पणीहरू