प्रतिनिधिसभा भोलि मध्यरातसम्म, बोल्ने सांसदहरु निकै

प्रतिनिधिसभा भोलि मध्यरातसम्म, बोल्ने सांसदहरु निकै

आज बसेको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका छन् ।

निर्वाचन आयोगले भोलि मध्यरातिदेखि संसदको कार्यकाल सकिने निर्णय यसअघि नै गरेको छ । आज आयोगले विज्ञप्ति जारी गर्दै पर्सि र सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेको बताएको छ । त्यसैले भोलि नै संसदको कार्यकाल सकिने भएको हो ।

तर, प्रतिनिधिसभाको कार्यकालसम्बन्धी निर्वाचन आयोगको सो व्याख्या विवादित छ । मङ्सिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहनुपर्ने धेरैजसो कानुनका व्याख्याताहरुको तर्क छ ।

२०७४ फागुन ११ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल शुरु भएकाले असोज १ मा कार्यकाल सकिएको घोषणा गर्दा संविधानसम्मत नहुने उनीहरुको जिकिर छ ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने कतिपय सांसदले पनि त्यस्तै तर्क गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुबैचोटी गरेको विघटन बदरको फैसलामा सर्वोच्च अदालतले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने प्रष्ट व्याख्या गरिसकेकाले त्यसविपरित गर्न नहुने अधिकांश सांसदको भनाइ छ ।

यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान संसदको कार्यकाल भोलि मध्यरातदेखि सकिने भएकाले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू