राप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्धको टोली चितवनबाट हिँड्यो
चर्चित ठेकेदार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध आन्दोलन गर्न चितवनबाट राप्रपाका कार्यकर्ता चढेको एउटा गाडी काठमाडौँ आइपुग्न लागेको छ । पाण्डेका कारण चितवनमा पार्टी बदनाम भएकाले उनलाई पार्टीबाट निकाल्नुपर्ने आवाज अध्यक्ष राजेन्द्र लिङ्देनलाई नजिकबाट सुनाउन उनीहरु काठमाडौँ आएका हुन् ।
पाण्डेमाथि भ्रष्टाचारीको आरोप लगाउँदै राप्रपाका एक नेताले आगामी निर्वाचनमा टिकट नदिन चितवनबाट सयको संख्यामा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उत्रिने बताएका छन् । आन्दोलनसँगै आजै पार्टी अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।
चितवनबाट बिहानै हिँडेका उनीहरु अपराह्न ४ बजेको आसपासमा काठमाडौँ आइपुग्ने जनाइएको छ । विरोध कार्यक्रमको रिपोर्टिङ गर्न पत्रकारलाई अनुरोधसमेत गरिएको छ ।
आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ता आन्दोलनमा उत्रिएपछि एमालेको साथ लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव हराउन कस्सिएका विवादास्पद ठेकेदार पाण्डे अप्ठेरोमा परेका छन् । पाण्डेले आफ्नो कम्पनीमा कार्यरत कर्मचारी र निकटका व्यक्तिलाई च्यापेर इमान्दार कार्यकर्तामाथि अन्न्याय गरेको भन्दै राप्रपा चितवनमा केही दिन यता कलह चर्किएको छ ।
टिप्पणीहरू