तक्मा पाउने कर्मचारीको भीडमा सर्वोत्कृष्ट शुन्य
गत भदौ २२ गते १९ औं निजामती सेवा दिवस मनाइयो । त्यसबेला झण्डै ८६ हजार निजामती कर्मचारीको भीडमा एक जना पनि सर्वाेत्कृष्ट कर्मचारी फेला पर्न सकेनन् । यसरी निजामती दिवस मनाउँदै गर्दा पछिल्लो आठ वर्षमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला परेका छैनन् ।
सर्वोत्कृष्ट कर्मचारी फेला नपर्दा दुइ लाख राशीको पुरस्कार वितरण नै हुन सकेको छैन । जनही एक लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कारबाट १० जना र जनही ५० हजार राशीको निजामती पुरस्कारबाट ३० जना कर्मचारीलाई सम्मानित गरिएको छ ।
तर रमाइलो चाहिँ दुई साता अघिमात्र लाखौं निजामती कर्मचारीको भीडमा एक जना सर्वोत्कृष्ट कर्मचारी फेला पार्न नसकेको सरकारले संविधान दिवसको उपलक्ष्यमा तक्मा थाप्ने कर्मचारीको संख्या अढाइ सय जना भेटेको छ । ती कर्मचारीहरु विभिन्न मानपदवी र अलंकारबाट विभूषित हुनेको सूचीमा छन् ।
भदौ २२ गते सर्वोत्कृष्ट कर्मचारी कोही नभेटिने तर दुई सातापछि असोज ३ गते संविधानका दिवसका अवसरमा मानपदवी, विभूषण, अलंकार थाप्नेको लर्काे देखिनु आश्चर्यको विषय हो । यस पटक सरकारले विभिन्न क्षेत्र र सेवाका गरी नौ सय ९८ जनालाई मानपदवी, अलंकारद्वारा विभूषित हुनेको सूचीमा परेका छन् ।
यसमा सरकारी सेवाकै कर्मचारीको बाहुल्यता देखिन्छ । यस पटक निजामती सेवातर्फका कर्मचारीको संख्या दुई सय ४१ जना देखिन्छन् भने स्वास्थ्य सेवा तर्फका ६१ जना छन् । स्वास्थ्य मन्त्रालयले विभूषणका लागि नौ जनाको नाम सिफारिस गरेर पठाएको भए पनि समितिमा बस्नेहरुले आफू निकटका नाम थपेर ६१ जना पुर्याएको बताइन्छ ।
यस पटक सुप्रवल जनसेवाश्री १७ जना डाक्टरले पाएका छन् । यस्तै प्रवल जनसेवाश्रीबाट २४, जनसेवाश्रीबाट १५ र ५ जनालाई अलंकार गरी स्वास्थ्य सेवातर्फका ६१ जना चिकित्सक तथा स्वास्थ्यकर्मी विभूषित हुनेको सूचीमा परेका छन् ।
स्वास्थ्य र निजामती सेवाका कर्मचारी जोड्ने हो भने तीन सय दुई जना सरकारी कर्मचारीले यो वर्ष तक्मा तथा विभूषण पाएका छन् । तर यतिधेरै कर्मचारी विभूषित हुनेको सूचीमा भेटिँदा निजामती कर्मचारी दिवसमा किन एउटै कर्मचारी सर्वाेत्कृष्टको सूचीमा भेटिएनन् ?
सूचीअनुसार यो वर्ष श्रम सचिव एकनारायण अर्याल, कृषिका सचिव डा. पे्रमनारायण कँडेल, अर्थ सचिव कृष्णहरि पुष्कर, लीलादेवी गड्तौलादेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका पाँच कर्मचारीलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषण थाप्नेको सूचीमा छन् । यस्तै सामान्य सचिव अर्जुनप्रसाद पोखरेल, युवा तथा खेलकुदका सचिव डा. दामोदर रेग्मी, अदालतका सचिव देवेन्द्रराज ढकाल, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी पनि सोही सूचीमा परेका हुन् ।
सहसचिवहरु मनोज सिलवाल,मदन दाहाल प्रदीपकुमार कोइराला, दीपक शर्मा, कोमलबहादुर खत्री, नारायण प्रसाद अर्याल, इन्द्रमणि पोखरेल, शिवराम पोखरेल, खेमराज कोइराला, प्रेमप्रसाद पौडेल, यज्ञप्रसाद अधिकारी, तीर्थ भट्टराई, सागर आचार्य, रोशनी श्रेष्ठ, विष्णुराज ढकाल, अनिता निरौलासहित ६४ कर्मचारीले सुप्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । यस्तै प्रवल जनसेवाश्रीबाट उपसचिव तहका कर्मचारी विभूषित हुँदैछन् ।
उक्त तक्मा पाउनेमा एक सय १९ जना कर्मचारी छन् । यसका अलावा अन्य ५३ कर्मचारी विभिन्न पदक पाउनेको सूचीमा छन् । यो पटक नौ सय ९८ व्यक्तिलाई पदक दिइँदा दुई सय ४१ जना कर्मचारी परेका छन् ।
सर्वोत्कृष्ट कर्मचारी एउटै नभेटिने तर तक्मा र विभूषण थाप्ने कर्मचारी अढाइ सय हाराहारी भेटिनुलाई एक जना पूर्व प्रशासकले पनि अचम्म मानेका छन् । उनले भनेका छन्, ‘सर्वोत्कृष्ट हुनका लागि उत्कृष्ट कार्यसम्पादन र काम गर्नुपर्ने तर तक्मा थाप्न चाकडी र भनसुन गरे पुग्छ । त्यही कारण लाखौं कर्मचारीको भीडमा सर्वाेत्कृष्ट कर्मचारी कोही नभेटिएका हुन् ।’
टिप्पणीहरू