शीतल निवासमा हल्ला गर्ने समातिए,बालकोटमा मूर्दावाद भन्नेहरु कुलेलम
हिजो साँझ राष्ट्रपति निवास,शीतल निवास बाहिर होहल्ला गर्ने एक जना समातिएका छन् । राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन भनेर गएका गौरीशंकर जयसवाललाई त्यहाँका सुरक्षाकर्मीले रोकेपछि उनले होहल्ला गरेका थिए ।
तर उता,हिजै बालकोटमा झण्डै एक दर्जन मोटरसाइकलमा गएकाहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाहिर नाराबाजी गरेका छन् । बिहान ११ बजेतिर मोटरसाइकलमा गएका झण्डै एक दर्जनले समानुपातिकको बन्द सूचिमा बनाउनमा ब्यस्त अध्यक्ष केपी ओलीलाई मूर्दावाद भनेका थिए । नम्बर प्लेट छोपिएका मोटरसाइकल प्रयोग गरेकाहरुले मुश्किलले डेढ मीनेट जति मूर्दावादको नारा लगाएको बताइन्छ ।
त्यसरी नारा लागेपछि छेउछाउबाट अरुले सडकमै गएर मोबाइलमा फोटो तथा भिडियो खिचेका थिए । तर त्यसरी खिचिएकामध्ये एक जनाको मोबाइल उनीहरुले खोसेर लगेको स्थानीयले बताएका छन् । घटनाक्रमले त्यसरी नारा लगाउनेहरु चिनेजानेका मान्छे हुनसक्ने अड्कल लगाउनेलाई बल मिलेको छ । आफ्नो परिचय नखुलोस् भन्ने उद्देश्यले उनीहरुले मोबाइल लुटेको प्रहरीको आशंका छ । तर ती को हुन् र त्यहाँबाट कता गए भन्नेबारे अहिलेसम्म प्रहरीले भेउ पाएको छैन ।
यसरी दिनदहाडै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको निवास बाहिर मूर्दावादको नारा लगाउने को हुन सक्छन् ? भनेर जनआस्थाले राखेको जिज्ञासामा एक जना पूर्व प्रहरी अधिकृतले भने, ‘ओलीलाई चर्चामा ल्याउने खेल पनि हुनसक्छ । असन्तुष्टिको कारण नारा लगाएको पनि हुनसक्छ ।’
तर चुनावमा टिकट नपाएको झोंकमा कसैले पनि मोटरसाइकलमा हुल बाँधेर दिउँसै नाराबाजी गर्दैन । जे भए पनि यो पूरै गुण्डागर्दी र अराजक प्रवृत्ति भएकोमा कसैको दुई मत छैन ।
अध्यक्ष ओलीको घर वरिपरि १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । त्यसबाट वास्तविकता खुलाउन सकिने सुरक्षा निकायले बताएको छ ।
टिप्पणीहरू