आफूहरुले कम्युनिष्ट आन्दोलन जोगाएको मन्त्री चौधरीको दाबी
सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूहरुले विद्रोह गरेका कारण नेपालमा कम्युनिष्ट आन्दोलन जोगिएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘जनताले ठूलो त्याग, तपस्या र बलिदानीबाट बनाएको संघीय गणतन्त्रात्मक संविधानमाथि ओली नेतृत्वको एमाले र सरकारले पटक पटक हमला गर्यो । एउटा निर्वाचित कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले संवैधानिक सर्वाेच्चतामाथि आक्रमण गरेको कुराले नेपालमा कम्युनिष्ट आन्दोलनमाथि ठूलो अविश्वास पैदा भयो । जनतामा कम्युनिष्टहरुले संविधान मान्दैनन् भन्ने मनोविज्ञान तयार हुन थाल्यो ।’
उहाँका अनुसार एमालेकै कारण कम्युनिष्ट आन्दोलन जोगिने अवस्था नबनेको हो । कुनै पनि मूल्यमा कम्युनिष्ट आन्दोलन जोगाउनै पर्ने भएकाले एकीकृत समाजवादी विकल्प बन्न पुगेको मन्त्री चौधरीको भनाइ छ ।
दलहरुमा मुलुक चलाउने राजनीतिक संस्कार नभएको पनि उहाँको बुझाइ छ । कांग्रेसको बहुमत हुँदा होस् या कम्युनिष्टको दुई तिहाइ हुँदा, सरकार चल्न नसकेको मन्त्री चौधरीको ठहर छ ।
उहाँले भन्नुभयो, ‘ठूला दलमा राजनीतिक चेतना हरायो । उनीहरुप्रति जनतामा विश्वास घट्यो । त्यसैले आगामी विकल्प एकीकृत समाजवादी पार्टी बनेको छ ।’
टिप्पणीहरू