महारानीको अन्त्यष्टिमा गएका परराष्ट्र मन्त्री भेटघाटमा
बेलायत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्यहाँस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन् बेलायत पुग्नुभएका उहाँले हिजो नेपाली दूतावासमा भातृ संगठनका कार्यकर्तासँग भालाकुसारी गर्नुभएको हो ।
भेटका क्रममा उहाँले बेलायतमा रहेका पार्टीका कार्यकर्तालाई देश र पार्टीका लागि क्रियाशील रहन निर्देशनसमेत दिनुभयो । आगामी संघीय निर्वाचनमा नेपाल गएर आ-आफ्नो भूमिका वहन गर्न मन्त्री खड्काले अनुरोध गर्नुभएको नेपाली जनसम्पर्क समिति बेलायतका एक पदाधिकारीले बताए ।
भेटघाटमा समितिका सभापति युवराज गुरुङलगायतले भूतपूर्व गोर्खा सैनिकहरुको न्यायका लागि परराष्ट्र मन्त्रलायलाई सहयोगका लागि आग्रह गरेका थिए । उनीहरूले भूपूगोर्खाहरूको समान अधिकार र पेन्सनका लागि जारी आन्दोलनमा कांग्रेस नेताहरूले निर्णायक भूमिका खेल्न सुझाव पनि दिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरू विनोदराज मोक्तान, केशबहादुर गुरुङ, हितकाजी गुरुङ, महेशकुमार दाहाल, कुमारी गुरुङ, डा. सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा, ई. तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवाललगायत उपस्थित थिए ।
टिप्पणीहरू