सुन्दरबजारका स्थानीयलाई सहरी मन्त्री चौधरीको आग्रह : कामको निगरानी गर्नुस्

सुन्दरबजारका स्थानीयलाई सहरी मन्त्री चौधरीको आग्रह : कामको निगरानी गर्नुस्

सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माण तथा सरकारी कामको बेलैमा निगरानी गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । लमजुङको सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशिक सडकका रुपमा विकास गरिएको यो सडक सम्पन्न गर्ने जिम्मा आज हाम्रो काँधमा आएको छ । हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ, कालोपत्रे गर्ने छौँ । यो सडक निर्माणपछि यहाँका जनतालाई ठूलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुँदैन त्यो चाँही निगरानी गर्नुस् ।’

उहाँले मिलेर विकास गर्ने भएकाले आफ्नो ठाउँ, गाउँ आफैं बनाउने बताउनुभएको छ । हिजोको परिस्थिति र अहिलेको बदलिएको अवस्थालाई ध्यान दिन आग्रह गर्दै मन्त्री चौधरीले थप्नुभयो, ‘हिजो झगडा गर्ने संस्कार थियो । अब मिलेर विकास गर्ने समय आएको छ । तपाईंहरुले विकास सरकारले गर्यो भन्नुपर्छ । सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्छ । सहजीकरण नगरपालिकाले गर्छ । सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन यो कुरा तपाईंहरुले हेर्ने हो । हाम्रो गाउँ आफैं बनाउने हो । आफ्नो ठाउँ आफैं बनाउने हो ।’

उक्त सडक स्तरोन्नतीका निम्ति ५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको छ । सडकको कुल लम्बाई १५ दशमलब २ किलोमीटर हुनेछ भने सडकको चौंडाइ ७ मीटर र कालोपत्रेको चौडाई ५ दशमलब ५ मीटर हुने बताइएको छ ।

उहाँले हिजै तनहुँको व्यास नगरपालिका मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गर्नुभएको छ । उक्त सडकको कुल लागत सात करोड तीन लाख १३ हजार ३८९ रहेको छ । सडकको लम्बाई ४ दशमलब ६ किलोमीटर छ ।

टिप्पणीहरू