राजनीतिक दलहरुमाथि पूर्वराजाको आक्रोश, भागबण्डा र सुविधामा लिप्त भएको आरोप

राजनीतिक दलहरुमाथि पूर्वराजाको आक्रोश, भागबण्डा र सुविधामा लिप्त भएको आरोप

पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरु पद, लोभ,सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधामा केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत भयावह भएको आरोप लगाउनुभएको छ । उहाँले विजया दशमी २०७९ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उक्त धारणा राख्नुभएको हो ।

बहुदलीय संसदीय प्रणालीमा जनताको आशा र आकांक्षाअनुरुप राजनीतिक दलहरु संगठित हुनुपर्नेमा आस्था,सिद्धान्त र जनविश्वासका दृष्टिले ती गैरनिष्ठावान र जनउत्तरदायी भएको पूर्वराजाको ठहर छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र आजको स्थितिले सर्वत्र प्रश्न उठाएको उहाँको ठहर छ ।

सन्देशमा लेखिएको छ, ‘हालको अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति कुनै भरोसा छैन । दायित्व के ? गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइन ? यी सबै कुराको निराकरण कसले गर्ने,कोबाट हुने ? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो ।’ पूर्वराजाले देशप्रति बफादार र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था,संगठन एवम प्रतिनिधित्वको उपयुक्त पात्र आज देशले खोजिरहेको संकेत गर्दै राजनीतिक दलहरु असफल भएको निश्कर्ष निकाल्नुभएको छ ।

बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ भन्दै राजसंस्था र राजासहितको व्यवस्थालाई उक्त मियोको रुपमा संकेत गरिएको बुझ्न सकिन्छ । ‘नेपाल निरन्तर देशी, विदेशीहरुको क्रिडाभूमि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनु पर्ने देखिन्छ । नेपाललाई फेरि महान बनाउन परेको छ,’ सन्देशमा उल्लेख छ ।

होनहार नागरिकलाई अन्यत्र पठाउन बाध्य पारिएको तर बाहिरिएकालाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति आफ्नो चासो र चिन्ता बढेको उहाँको भनाइ छ । नागरिकता विधेयकप्रति संकेत गर्दै पूर्व राजा ज्ञानेन्द्रले उक्त विषयलाई सन्देशमा समेट्नुभएको अर्थ लगाइएको छ ।

मुलकुका धर्म,संस्कृति, सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको उहाँको बुझाई छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै राजनीतिक व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक भएको छ ।

सन्देशमा लेखिएको छ, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक,धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रिय हित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ ।’

मुलुकमा भ्रष्टाचार व्याप्त रहेको,यसले राज्य व्यवस्थालाई पथभ्रष्ट तुल्याएको उहाँको भनाइ छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको ठहर गर्दै पूर्व राजा ज्ञानेन्द्रले भन्नुभएको छ, ‘हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’

https://www.facebook.com/watch/?v=646550160163344

भिडियो: थाहा खबर फेसबुक पेज

टिप्पणीहरू