केपी ओली त्यसरी जंगिएपछि…
पैसावाल, त्यसमा पनि डलर अर्बपतिलाई ठाडै ‘गेट आउट’ भन्ने हिम्मत भएका मान्छे पनि यही मुलुकमा छन् । तिनै व्यापारीलाई केपी ओलीले प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाहरूकै सामुन्ने बालुवाटार बैठकबीच ‘देशको धमिरा हो यो, यसलाई ठेगान नलगाई भएन’ सम्म भन्नुभएको थियो ।
सन्देहात्मक आर्थिक गतिविधिबाट बच्नका लागि निरन्तर सांसद भइरहनुपर्ने, कूटनीतिक (रातो) पासपोर्ट प्रयोग गरेर विदेश शयर गरिरहनुपर्ने र सुरक्षा प्रशासनबाट निरन्तर छलिनुपर्ने ‘दुःख’ मा बाँचेका विनोद चौधरीलाई नेपाल सरकारका एकजना सचिवले वर्षौं पहिले ‘गेट आउट’ भन्दै कार्यकक्षबाट निकालिदिएको प्रसंग पनि छ । ती हिम्मतदार अर्थ सचिव थिए, रामेश्वर खनाल । पछि ओली प्रधानमन्त्री रहनुहुँदा उहाँले ‘यसले आर्थिक स्थितिलाई सत्यानाश गरेको छ’ भन्दै उनीबारे कुनै न कुनै कारवाही थाल्ने सुरसार गर्नुभएको थियो । तर, सबै प्रयत्नहरू उनका हकमा अहिलेसम्म सफल हुन सकेका छैनन् ।
२०६४ सालको पहिलो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक सांसद थिए, चौधरी । त्यही कार्यकालमा एकदिन ११ जना मारवाडी व्यापारीहरूको हुलमा मिसिएर अर्थ मन्त्रालय पुगे । सचिव थिए, रामेश्वर । कर र नक्कली भ्याटबिलको मामिला त्यसबेला निक्कै चर्किएको थियो । तत्कालीन मन्त्री भरतमोहन अधिकारीको सफ्ट कर्नर पाएका व्यापारीहरू आफूलाई त्यो नाममा दुःख दिन नहुने माग गरिरहेका थिए ।
सचिव रामेश्वर ‘मिल्दैन’ भन्दै उनीहरूको कुरा अस्वीकार गर्दै थिए । यसपछि चौधरीले छातीमा भिरेको सांसदको लोगोतर्फ इंगित गर्दै भने, ‘तपाईं कोसँग कुरा गर्दै हुनुुहुन्छ ? यो लोगो देख्नुभएन ?’ रामेश्वर हच्किएनन्, बरु जवाफ दिए, ‘अहिले तपाईं सांसद भएर हैन, करदाता भएर आउनुभएको छ । म करदातासँग कुरा गर्र्दैछु ।’ चौधरी फेरि जंगिए, ‘यत्रो गरिमामय संसदको सदस्यलाई अवमूल्यन गर्ने ?’ रामेश्वरले भने, ‘तपाईं व्यवस्थापिका संसदको मान्य सदस्यको हैसियतले कुरा गर्नुहुन्छ भने म नेपाल सरकारको सचिवलाई तपाईंले आफ्नो ठाउँमा बोलाएर सोध्न, निर्देशन दिन पनि सक्नुहुन्छ । मैले मान्नुपर्छ । तर, यहाँ तपाईं मसँग व्यापारी भएर, आफ्नो व्यापारिक मामिलाका बारेमा कुरा गर्न आउनुभएको छ ।
म त्यही ठानेर तपाईंसँग बोल्दैछु ।’ चौधरीले सचिवको टेबुल ठोक्दै भने, ‘माइण्ड योर ल्याङ्वेज, म व्यवस्थापिका संसदको सदस्य हुँ !’ यसपछि रामेश्वर पनि जंगिए, ‘तपाईंजस्ता मान्यसँग मलाई यहाँ कुरा गर्नुछैन, गेट आउट !’ चौधरी रिसले मुर्मुरिएर ‘म पनि हेरौँला’ भन्दै सचिवको कार्यकक्षबाट बाहिरिएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शीहरु जनआस्थाको नियमित सम्पर्कमै छन् ।
टिप्पणीहरू