जनयुद्धताका कसरी मनाइन्थ्यो दशैं ?

जनयुद्धताका कसरी मनाइन्थ्यो दशैं ?

– जानुका धमला

‘शुरु भयो दशैँँ पर्व, आफ्नो संस्कृति–आफ्नो गर्व ।’ हिन्दू धर्मावलम्वीहरूको महान चाडको रूपमा मनाइँदै आएको विजया दशमी घर आँगनमा आइसकेको छ । बाल्यकालमा बाले रसुवाको टिमुरेबाट घर फर्कंदै गर्दा हातमा २ वटा च्यांग्रो डो¥याएर, झोला भरी नयाँ कपडा र दशैँँको लागि सरसामान ल्याएपछि, बाबियोको पिङ ठूलो रूखको हाँगामा लगेर झुण्ड्याई काम्रो राखेर चचहुइ गरेपछि दशैँ आँगनैमा आइपुगेको आभाष हुन्थ्यो । चाडपर्व पारिवारिक भेटघाट पनि हो ।

अहिले पनि घर, गाउँ छोडेर शहर पसेका अर्काको देशमा श्रम बेच्न जान बाध्य भएकाहरू बिदा लिएर दशैँमा फर्किने गर्छन् । यो धार्मिक र सामाजिक पाटो थियो । राजनीतिक पाटोबाट दशैँलाई नियालेको चाहिँ जनयुद्धको मोर्चामा लामबद्ध भएपछि मात्रै हो । असत्यमाथि सत्यको विजय भएको दिन हो भनेर कमाण्डरहरूले मलाई प्रशिक्षित गरेजस्तो म पनि मेरा सदस्यहरूलाई त्यसरी नै प्रशिक्षित गर्थें । हामीले मनाउने दशैँ सामूहिक हुन्थ्यो । दशैँहरू सत्य, समानता र न्यायका लागि हुनुपर्छ भनी कयौं पटक कम्ब्याक्ट डे«स लगाएर सहयोद्धा साथीहरूको बीचमा उभिएर मैले बोेलेको छु ।

दशैँबारे जति महत्व दिएर सुने, बुझे पनि त्यसले हाम्रो सामाजिक व्यवहारमा फरक पारेन । महिला हक, महिला अधिकार, समान अधिकार, लैंगिक अधिकार, लैंगिक समानता, महिला सशक्तिकरण, नारी मुक्ति, योग्यता र प्रतिभाका आधारमा महिलालाई स्थान र अवसर आदि–इत्यादि आदर्श, सिद्धान्त र पदावली परिवर्तनकारी यात्राको बाटोमा होमिने बेलासम्म गम्भीर विषय हो भन्ने नै लागेन ।

बडादशैँ किन मनाइन्छ ? दशैँको औचित्य के हो ? महिलाको महत्व अधिकारको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? दशैँमा देवी नवदुर्गाको महत्व भएजस्तो जनयुद्धमा महिलाको महत्व मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त त हुन्छौं ? यस्ता सवाल जनयुद्धको मोर्चामा सामेल नहुँदासम्म मेरालागि गौण विषय नै थिए ।

२३ वर्षअगाडि नेपालको सामाजिक, राजनीतिक अवस्था कस्तो थियो ? देश स्पष्ट दुईवटा सत्तामा विभाजित थियो । दुबै सत्ता शस्त्र र अस्त्रको होडमा थिए । बन्दुकको नालबाट सत्ता जन्माउने आदर्श एकातिर थियो, बन्दुककै बलमा बिद्रोहको नामोनिशान मेटाइन्छ भन्ने अर्कोतिर । लाल र श्वेतबीचको विभाजन बिष्फोटक हुनुअघि म निधारमा मुक्ति वा मृत्युको कफन बाँधेर सबैखाले मोर्चामा होमिएको थिएँ । गाउँगाउँबाट आधार इलाका निर्माणको दिशामा अघि बढ्ने नारा लगाइरहँदा २०५७ सालमा पहिलो पल्ट रसुवाको लहरे पौवामा हालका माननीय मोहन आचार्यको घरमा कम्मरमा ग्रिनेड र काँधमा बन्दूक बोकेको छापामारको हैसियतमा मनाएको दशैँ हो । अरु ६ वटा दशैँ जनताको साथमा र ५वटा चितवनको क्यान्टोमेन्टमा मनाएँ ।

दशैँंको बेला हामीले सामूहिक काम गथ्र्यांै– बर्खा सकेर शरद ऋतुको आगमनसँगै बाटोघाटो सुधार, चौतारो निर्माण, खेल मैदान गेट, प्रतीक्षालय, धारो, पुल पुलेसाहरू बनाउने र जनताको घर आगनहरू सरसफाइ गर्ने काम हुन्थ्यो । युद्धको समय भए पनि सानातिना मुठभेट भिषण लडाइँचाहिँ कहिल्यै भएन । वर्षभरिको लडाइँपछि आराम गर्ने समय थियो दशैँं दुबैतर्फका सेनाको लागि ।

जनयुद्धको प्रायः दशैँंमा राजनीतिक प्रशिक्षण र फौजी कामको समीक्षा हुन्थ्यो सो अतिरिक्त भलिबल, फुटबल, डोरी तान्ने माटोका गाग्रोहरू फुटाउने खेलिन्थ्यो । विजय टिमलाई कमाण्डर, कमिसारको तर्फबाट खसी–बोका पुरस्कार दिने चलन थियो ०६२ सालमा काभ्रेको घर्तीछापमा दशैँं मनाउँदा भने २० किलोको खसी हाम्रो टिमले पुरस्कार जितेका । युद्धताका मनाएको अन्तिम दशैँं मकवानपुर फुर्केचौरमा हो ।  प्रतिक्रियावादी राज्यसत्ताको सदरमुकामस्थित क्याम्पभन्दा करिब आधा घण्टाको नजिकमा ।

मैले दशैँको महत्वबारे धेरैपटक सहयोद्धाहरूलाई हौस्याउँदै भनेको थिएँ, यस्तो सपना देखें जुन कहिल्यै सपना नहोस् । यस्तो लडाइँ लडौं जसका लागि फेरि लड्न नपरोस् । दशैँ मनाउँदै गर्दा म कहिलेकाहीँ कहिल्यै पूरा नभएका मुक्तिको सपनामा टहलिन्छु । लड्दालड्दा फेरि उठ्नै नसक्ने गरी लडेको लडाइँमा घोत्लिन्छु । विद्रोहको मुठ्ठीमा कैद महिला हक, अधिकार र समानता कसले, कसरी खोसेर पुनः कब्जामा लियो भनी घोत्लिन्छु यो वर्षको दशैँ मनाउँदै गर्दासम्म ।

२२ वर्षअघि सामूहिक दशैँ मनाइरहँदा मनमा अनेक भावना सल्बलाएका थिए । के साँच्चै म पनि उत्पीडनमा परेका निमुखा मानिसहरूलाई न्याय दिलाउन उनीहरूको नेतृत्व गर्न सक्छु ? सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिकलगायत क्षेत्रमा विद्यमान विभेदको, असमानताको, अन्यायको, हिंसाको पर्खाल नेपाली महिलाले ढाल्नेछन् र त्यसको नेतृत्व जनयुद्धकारी महिलाले नै गर्ने हैसियत राख्छन् भन्ने लाग्थ्यो । युद्ध मोर्चा सम्हाल्दै गर्दा मैले आफूलाई काली, चण्डी र दुर्गाको रूपमा पनि पाउँथेँ लडेका लडाइँ सफल विफल जे भए पनि ।

त्यतिबेलाको सपना अहिले केलाउँदा रुमानी नै ठहर सही तर ती लडाइँको सबैखाले मोर्चाले लिएको लक्ष्य त्यही हुन्थ्योजस्तो लाग्थ्यो । हामी सगरमाथाको देश नेपालबाट यही सन्देश संसारमा दिन चाहन्छौँ भनेर धेरैपटक त्यही भाषण गरेका हौं । मैले अग्रह योद्धाहरूबाट पनि त्यही सुनें । त्यही विचार र भावना आदानप्रदान गरें । हामीले मनाउने उत्सव वा विजय उत्पीडित वर्गको लागि पनि उत्सव बनोस् भन्ने पवित्र कामना हुन्थ्यो ।

विरोधको लागि तयार होऊ महिला भन्ने नारा हुन्थ्यो । त्यसपछि अफगानी महिलाका विषयमा, लैंगिक समानताका विषयमा, महिलाका लागि सुरक्षित भविश्य निर्माणको विषयमा रहेर विभिन्न चाडपर्वहरू मनाइयो । कहिले नारा लगाइयो, कहिले नारा लगाउन लगाइयो ।

जनयुद्धका सबै पाटा संगत नहुन पनि सक्छन् । सबै पक्ष बिसंगत पनि छैन । नेपाली महिला वर्गलाई राजनीतिमा, विद्रोहमा, युद्धमा एकाकार गराउने त्यो युगीन मोर्चाको जिउँदो साक्षी हुन पाउँदा मैले धेरैपटक आफैंसँग गर्व गरेकी छु । राजनैतिक संगठनमा होस् वा सैन्य संगठनमा जनयुद्धमा महिलाको उपस्थिति देखेर संसारले अहो भन्दै जीब्रो टोकेकै हो । फेरि पनि दशैँको महत्वबारेमा लेखिरहँदा मलाई विद्रोहको त्यो शिराबाट महिला मुक्ति र आन्दोलनका पूर्वदृष्यको सम्झना हुन्छ । यसैले यो विषम दिनमा म पनि हामीले कहाँनेर अधिकार भेट्यौं र कहाँनेर हामी छुट्यौं भनेर सम्झने प्रयास गरिरहेको हुन्छु । समाज बदल्न संगठन र मोर्चा भन्दै हिँडेका दिन र रातहरू सम्झन्छु ।

म याद गर्छु, समाजलाई जतिसक्दो चाँडो परिवर्तन गर्नु छ भने समाजका सबै महिला विद्रोहमा एकाकार हुनपर्छ भनेको कुरा । सशस्त्र भएर हिंडेको प्रारम्भिक दिनहरूमा जब भेदभावको महसुस भएन, जब अन्यायको अनुभव भएन, जब अवसर आफ्नोलागि बाटो कुरेर बसिरहेको हुन्थ्यो, जहाँ एउटा जिम्मेवारी पूरा गरेसँगै थप नयाँ जिम्मेवारीको भारी बोक्न सधैं आफूलाई तयार पाउँथें, जहाँ महिला र पुरुष दुबैले लडाइँमा उत्तिकै दिलोज्यान लगाएर प्रयास गर्दथे, जहाँ जातको पर्खाल थिएन, सानो र ठूलोको भेद थिएन’ म सोच्थें यसैगरी त हो हामीले चाहेको मुक्तिको बिहान ल्याउने ।

त्यही यात्रा नै निर्विकल्प हो भन्ने थियो । यही बाटोले नै फासिवादी सामाजिक सत्ता पनि ढालिन्छ र पुरुषवादी सत्ताको चरित्र पनि फेर्न सकिन्छ भन्ने थियो । कसैले रोजा पढाए, कसैले क्लारा जेट्किन पढाए, कसैले चिनियाँ क्रान्ति पढाए, कसैले रुसी क्रान्ति पढाए, अहिले समाज र नव दुर्गाको महत्वहरू, ज–जसले पढाए विद्रोहमा तातिरहेको रगत उम्लने गरी पढाए । आजको दिनलाई चटक्क बिर्सेर हिजोका दिनमा यात्रा गर्दा पैदा हुने यो रोमाञ्चकता आफैंमा गौरवशाली लाग्छ ।

त्यतिबेलाको आश्वासनका पहाडमा उभिएर गरिएको रक्तिम यात्रा पनि खोज्छु– सपनाहरू असरल्ल छरिएका छन्, कहाँ के टिपौं, कहाँ टिपौं भएर केही पनि टिप्न नसकेका कथाहरू बुनिरहेको हुन्छु । महासमरबाट अनुभवको फोस्रो पोको मात्र बोकेर फर्किएको छापामारको अनुभवी त भनिरहेको छैन भनेर कहिले काहीं आफैंसँग प्रश्न गरिरहेको हुन्छु ।

म हिजोका हाम्रा नेतृत्वहरूलाई आजको तराजुमा राखेर हेर्ने प्रयास गर्छु । हिजोका सिद्धान्त, आदर्श र आजको जीवनशैली ब्यवहारमा नमिलेको सन्तुलन हेर्छु । के गर्छु भनेर हिजो लडे लडाए र आज के गरे ? हिजो राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने नेताहरूले आज सत्तामा बसेर मनाइरहेको तामस खुशी नयाँ वर्गउत्थानको नयाँ उदाहरणभन्दा केही पनि होइन भन्ने मेरो ठहर हो । निःसन्देह हो नै रहेछ, उनीहरूलाई राज्य र सत्ता नै सबथोक रहेछ । सत्ता शक्ति र पावरमा रजाइँ गर्र्र्नेहरूको लागि सधैं दशैँं छ । जो गरिब छन् जो निमुखा छन्, जो सत्ताहीन छन्, ती वर्ग र मानिसहरूको लागि पनि दशैँं आएको हेर्ने रहर छ । म र मजस्ता हजारौं महिलाले काली चण्डी र दुर्गा भएर ल्याएको व्यवस्थामा लाखौं बगैँचाहरू निर्माण भएका छन् हजारौं सुन्दर फूलहरू फुलेका छन् यो बगैंचा निर्माण गर्ने मालीको तर्फबाट २०७९ सालको दशैँ सम्पूर्णमा शुभकामना !

टिप्पणीहरू