झापा एमालेमा अनेक झमेला
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट संघीय प्रतिनिधि सभाको निर्वाचनमा झापा, निर्वाचन क्षेत्र नम्बर २ मा देवराज घिमिरे र अग्नि खरेलबीच रस्साकस्सी चलेको छ । देवराज घिमिरे प्रदेश इञ्चार्ज हुन् भने अग्नि खरेल जिल्ला इञ्चार्ज । अध्यक्ष केपी शर्मा ओलीले पवित्रा निरौला खरेललाई अग्नि काउन्टर दिन अग्निलाई झापा पठाएका थिए ।
कानुन मन्त्री भएपछि महान्यायाधिवक्ताको कार्यभारसमेत सम्हालेका अग्नि अध्यक्ष आश्वासन पाएपछि बिर्तामोडमा घर र जमिन किनेर जनतालाई सहयोग गर्दै आएका थिए । यसबीच, काठमाडौं बस्न थालेका घिमिरे पनि झापामै बस्न थालेका छन् । उनले यसपल्ट मेरो अन्तिम चुनाव हो मलाई सहयोग गर भन्ने गरेका छन् । उनको समर्थनमा बिर्तामोड नगरकमिटी देखिएको छ । अग्नि खरेलले अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरिकुमार राना दशभाइ समूहका हुन् । त्यसबेला रानालाई अग्निले मेयर वा प्रदेश सांसदमध्ये रोजीछाडी दिउँला भनेर आश्वस्त तुल्याएको बुझिन्छ ।
देवराज घिमिरे आउँदा चिन्तन पाठकलाई र अग्नि खरेलले टिकट पाउँदा हरिकुमार रानालाई प्रदेशतर्फ चुनाव लडाउने रस्साकस्सी चलेको छ । यो अन्तरविरोधका कारण झापा २ को ख मा रमाइलो देखिएको छ । ‘क’ मा एकराज कार्कीलाई दिने निश्चय भएको छ । पाठक अघिल्लो स्थानीय निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी झापा जिल्लाको पार्टी सचिव थिए । तैपनि, यो रस्साकस्सीमा देवराज घिमिरे र चिन्तन पाठक नै भारी पर्ने देखिएको बताइन्छ । अर्कोतर्फ बहुचर्चित दुर्गा प्रसार्इं एमालेका क्षेत्रीय कमिटीलगायत विभिन्न मञ्चमा यतिखेर नानाभाँती बकेर हिँडेको भिडियो सार्वजनिक भइरहेको छ ।
उनले मलाई हजुरबाले यस क्षेत्रमा जा भनेर पठाएको हो । अब म हिन्दूलाई गाईको मासु काटेर खा भन्दा खान्छु ? पार्टीले गोरुको मासु खा भन्दा खान्छु ? खाँदिन, कुनै पनि हालतमा राजावादी राप्रपालाई भोट हाल्दिनँ भन्दै हिँडेको देखिन्छ । बरु उठ्दिन, मैले करोडौंको सामान दुबईबाट ल्याएर गोदाममा थन्क्याएको छु भन्ने गरेका छन् । स्मरणीय छ, राप्रपाले एमालेसँग गठबन्धन हुँदा झापाको निर्वाचन क्षेत्र नम्बर ५ र २ मा दाबी गरिरहेको छ ।
यसैबीच, आफ्ना खास मान्छेबीच सहमति नभएमा अध्यक्ष ओलीले ध्रुव शिवाकोटीलाई २ नम्बरमा टिकट दिन सक्ने चर्चा पनि शुरु भएको छ । झापा १ मा रविन कोइराला निर्विरोध देखिन्छन् भने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसपालि पनि हार व्यहोर्न सक्ने अवस्था छ । जिल्ला र प्रदेशले नगर प्रमुखमा सिफारिस गरेका केशव पाण्डेको खोसेर बुढाथोकीलाई दिएको आरोप लगाइएको छ ।
यसले गर्दा शर्माको हालत नाजुक देखिएको छ भने ४ नम्बरमा डा. देउमान थेवे र एल.पी. साँवाबीच टक्कर पर्ने देखिन्छ । यो क्षेत्रमा एकीकृत समाजवादीसँग तालमेल भएको अवस्थामा प्रदेश सभामा रहेका माओवादी केन्द्रका कृषिमन्त्री झलकसिंह दर्लामी मगरले समेत जित्ने अवस्था देखिएको छ ।
टिप्पणीहरू