बैतडीमा दलित भान्से नियुक्त

बैतडीमा दलित भान्से नियुक्त

स्थानीय तहका जनप्रतिनिधिले नातागोता र आफ्नै घरका सदस्यलाई वरपर राख्ने प्रवृत्ति बढेका बेला बैतडीको शिवनाथ गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई खाना पकाउने भान्से नियुक्त गरेको छ ।

पाँच वर्षदेखि दलित भान्से काममा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । स्थानीय तहको पहिलो निर्वाचन (२०७४) मा नेपाली कांग्रेसबाट कर्ण साउद अध्यक्षमा विजयी भएपछि भान्सेमा प्रकाश नेपाली औजीलाई नियुक्त गर्नुभएको थियो । साउद दोस्रो पटक २०७९ मा पनि अध्यक्ष निर्वाचित हुुनु भएको छ ।

पढाइ छाडेर भारत जाने तयारीमा रहेका बेला गाउँपालिकाले बोलाएर भान्सेमा नियुक्ति दिँदा शुरुमा त विश्वास नै नलागेको शिवनाथ गाउँपालिका–२, सनकोटका प्रकाश नेपालीले बताउनुभयो । भन्नुभयो, ‘खाली समयमा कम्प्युटर सिक्दै पढाइमा खर्च गरिरहेको छु ।’

प्रकाश नेपालीले भान्सेका रूपमा काम गर्दै प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइसमेत पूरा गर्नुभएको छ । उहाँले हालै शिक्षक सेवा आयोगतर्फ निमावि तहको लाइसेन्स परीक्षासमेत दिएको बताउनुभयो । कुश्मा चन्दले चाहिँ दलितलाई भान्से र कार्यालय सहयोगीमा एकल महिला नियुक्त गर्न सफल भएको बताउनुभयो ।

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी जम्मा १० स्थानीय तह छन् । अधिकांशमा भान्से, पिए र सहयोगीका रूपमा जनप्रतिनिधिले र नातागोतालाई नियुक्त गरेर तलब खुवाउँदै आएका छन् ।

प्रकाश नेपालीसँगै कार्यालय सहयोगीमा नियुक्त शिवनाथ गाउँपालिका– ६, बसेडीकी एकल महिला हिमा धनाडीको अनुभूति बेग्लै छ । उहाँ विवाह गर्ने उमेर २० वर्ष नपुग्दै विधवा हुनुभएको थियो ।

टिप्पणीहरू