कपिलवस्तुमा पनि काँग्रेसले माओवादीलाई अप्ठेरोमा पारेको आरोप
सत्ता गठबन्धन दलहरुबीच आगामी निर्वाचनको सीट भागबण्डा टुंगो नलाग्दै विभिन्न अड्चनहरु देखिन थालेका छन् । यसअघि अन्य दलका उम्मेदवार विजयी भएका क्षेत्रमा समेत काँग्रेसले आँखा लगाएपछि सीट भागबण्डा पेचिलो बन्दै गएको आरोप छ ।
काँग्रेसले सत्ता गठबन्धनमा रहेका अन्य दलका शीर्ष नेताको निम्ति रोजेको स्थानमा सीट सुरक्षित गराइदिने र अन्यको हकमा निचोर्ने नीति लिएपछि गठबन्धन दलका दोस्रो तहका नेताहरु सशंकित भएका छन् । यसमा विशेषगरी माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादीका दोस्रो तहका नेताहरु असन्तुष्ट बनेका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री चन्द्रप्रकाश खनाल बलदेव यसअघि निर्वाचित क्षेत्रसमेत काँग्रेसले दावी गरेपछि कपिलवस्तु माओवादीमा चर्को असन्तुष्टि देखिएको छ । यसअघि नै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ माओवादीलाई दिने सहमति भइसक्दा पनि अहिले काँग्रेसले भाँजो हालेको बताइएको छ ।
माओवादी कपिलवस्तुका नेताहरु भन्छन्, ‘गठबन्धन दलका यसअघिका विभिन्न बैठकमा समेत माओवादीलाई दिने सहमति भइसकेको कपिलवस्तु क्षेत्र नम्बर १ मा पुनः नेपाली काँग्रेसले धारणा फेरेको छ । उक्त क्षेत्र आफूलाई चाहिने अडान लिँदै भाँजो हाल्ने कोशिस भएको छ ।’
टिप्पणीहरू