राष्ट्रपतिको सवारीमा मोटरसाइकल ठोक्काउन खोज्नेको हुलिया खुल्यो

हिजो राति सवा ८ बजेको समयमा महाराजगञ्ज पानी पोखरी नजिकै राष्ट्रपति विद्यादेवी भण्डारी सवार गाडीमा मोटरसाइकल ठोक्काउन खोज्ने व्यक्ति नुवाकोटको शिवपुरी गाविस १ का नेत्रबहादुर तामाङ रहेको खुलेको छ । हाल प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएका ४२ वर्षे तामाङले बा.६० प ५९१३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीले रोक्दारोक्दै जबर्जस्ती कुदाएको प्रहरीको भनाइ छ ।

काठमाडौंको टोखा ४ मा बस्दै आएका उनले हिजो राति लाजिम्पाटबाट महाराजगञ्जस्थित शीतल निवास जाँदै गरेको राष्ट्रपतिको सवारी साधनमा मोटरसाइकल ठोक्काउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला राष्ट्रपति भण्डारी तलेजु भवानीको दर्शन र पूजा गरेर बसन्तपुरबाट शीतल निवास फर्कदै हुनुहुन्थ्यो । तामाङलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइएको थियो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

टिप्पणीहरू