बेलायत एनआरएनएमा बिग्रह ल्याएको भन्दै कँडेलमाथि कारवाही तयारी

बेलायत एनआरएनएमा बिग्रह ल्याएको भन्दै कँडेलमाथि कारवाही तयारी

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले उपाध्यक्ष नारायणदत्त कँडेललाई कारवाही गर्ने तयारी थालेको छ । संस्था फुटाउन उद्यत रहेको आरोपमा उपाध्यक्ष कँडेललाई गैर–आवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने तयारी गरेको हो ।

उपाध्यक्ष कँडेलमाथि संस्थाभित्र गुटवन्दी गर्दै विग्रह ल्याउन खोजेको आरोप लगाइएको छ । संघमा देखिएको विवादको प्रमुख कारण कँडेल भएको ठहर गर्दै कारवाही गर्ने निस्कर्समा संघ पुगेको बताइन्छ ।

कँडेलले नै विवादस्पद अन्तराष्ट्रिय समन्वय परिषदसंग अध्यक्षको अनुमति बिना २७ जुलाईमा आफूखुशी समझदारी पत्र ‘एमओयू’ मा हस्ताक्षर गरेर २८ जुलाई मा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम झिकेर पठाएपछि विवाद शुरुवात भएको थियो ।

कँडेलमाथि संस्थाको पैसा अपचलन गरेको, समानान्तर अध्यक्षको रुपमा अभ्यास गर्दै संस्थाविरुद्ध गुटवन्दी गरी जातीय विग्रह ल्याउन खोजेको, अरुलाई पनि उक्साएको, निर्वाचित अध्यक्ष विरुद्ध गैर–कानुनी रुपमा अविश्वासको प्रस्ताव ल्याएको र सम्पन्न भइसकेको साधारणसभा तथा संघसंस्था भेला पुन: डाकेर संस्था फुटाउन खोजेको अनि एकजुट भएर बसिरहेको बेलायतको नेपाली समुदायलाई विभाजन तर्फ लगेको संगीन आरोप छ ।

सन् २०१८ तिर बेलायतको नर्दर्न आयरल्यान्डबाट जम्मा १२ मत बोकेर संस्थाभित्र छिरेका कँडलले त्यसपछि संस्था गिजोलेर छिन्नभिन्न बनाएको बताइन्छ ।

गत २४ जुलाईमा बसेको बैठकमा पैसा नपठाए कार्यसमिति भंग हुने भन्ने भ्रम फैलाउदै अन्यलाई पनि हस्ताक्षर गर्न उक्साहट गरेको कँडलमाथि आरोप छ । पैसा पठाएको बिषयमा जवाफदेहीताको जिम्मेवारी लिदै पञ्जिकृत सदस्यहरु सामु जवाफ दिन्छु भनेर ६ अगष्ट २०२२ को बार्षिक साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा बहिष्कार गरेर मोर्चाबन्दीमा लगेर संस्था विरुद्ध निरन्तर लागेकाले कारवाही गरिने गैर–आवासीय नेपाली संघ बेलायतका प्रवत्ता भरतमणी चोङबाङले बताए ।

कँडेल नेतृत्वको समूहले सम्पन्न भइसकेको साधारणसभा अवैधानिक तवरले पुन: आउँदो १८ अक्टोबरमा डाकेर पदीय जिम्मेवारी बिर्सिइ संस्थाविरुद्ध गतिविधि गरिरहेकाले बाध्य भएर कारवाही गर्नुपर्ने अवस्था आएको प्रवत्ता चोङवाङले बताए ।

संस्थामा बिग्रह ल्याउने प्रमुख मानिएका कँडेल विरुद्ध वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिमा उजुरी परेको छ । छानवीन समितिमा उजुरी परेपछि आवश्यक छानवीनका लागि कँडेललाई ४ अक्टोवरमा छानवीन समितिले बोलाएको थियो ।

गम्भिर विषयमा उजुरी परेपछि छानवीनका लागि कँडेललाई बोलाइएको तर उपस्थित नभएकाले एकपटक मौका दिइने छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । अर्को मौका दिदाँ पनि नआए समितिले आवश्यक कारवाही अगाडि बढाउने पनि डा. पुनले स्पष्ट पारे ।

टिप्पणीहरू