सन्दीप लामिछाने काठमाडौं ओर्लंदै, इमान्दारितापूर्वक आत्मसमर्पण गर्ने भनाइ
नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आज बिहान १० बजे कतार एयरवेजको उडानबाट काठमाडौं आउन लागेको जानकारी दिएका हुन् ।
उनले आफूमाथि गलत आरोप लागेकाले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् । काठमाठौंमा उत्रेलगत्तै प्रहरीसमक्ष आत्मसमर्पण गर्नु आफ्नो इमान्दारिता भएको उल्लेख गर्दै सन्दीपले लेखेका छन्, ‘म न्याय पाउनेमा विश्वस्त छु । छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउने छु ।’
आफ्नो स्वदेश फिर्तीबारे नेपाल प्रहरीलाई समेत जानकारी गराइसकेको उनले दाबी गरेका छन् । सन्दीपले आफूलाई नियन्त्रणमा लिने समयमा आफ्ना वकिल सरोजकृष्ण घिमिरेको अनिवार्य उपस्थितिको शर्त राखेका छन् ।
उनले भनेका छन्, ‘अनुसन्धानमा पूर्ण सहयोग गर्नेछु । निर्दोष साबित गर्न कानुनी लडाइँ लड्नेछु ।’
टिप्पणीहरू