लगातारको वर्षाले दशैं हिलाम्मे, पर्सिसम्म पानी पर्ने
सोमबार रातिदेखिको अविरल वर्षाले हिन्दुधर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दशैंको माहौल बिथोलिएको छ । दक्षिण–पश्चिम बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा भएको छ । वर्षाले दशैंका मुख्य दिनहरु महाष्टमी, महानवमी र विजया दशमी हिलाम्मे भएका हुन् ।
हिजोदेखि प्रदेश १, मधेश, गण्डकी, लुम्बिनीलगायत प्रदेशमा साउनमा झैँ पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो दिउँसोदेखि झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठानलगायत जिल्लामा मुसलधारे वर्षा भइरहेको छ ।
ठूलो वर्षाको कारण सो क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने चेतावन दिँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षा पर्सिं शनिबारसम्म हुने अनुमान गरिएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोलगायत प्राकृतिक जोखिम उत्पन्न भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
टिप्पणीहरू