चाडबाडको बेला,डा. शेखर समूहको आकस्मिक भेला
नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज दिउँसोलाई भेला डाकेको छ । डा. शेखर कोइराला पक्षले दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।
आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग कम्तीमा एक सय सीटमा मात्र सहमति जनाउन दबाब दिँदै आएको उक्त समूहले दशैंको टीकाको भोलिपल्टै भेला बोलाएर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई थप दबाब दिने उद्देश्य राखेको बताइन्छ । आगामी आइतवार संघीय तथा प्रदेश सभा निर्वाचनको निम्ति उम्मेदवार मनोनयनको कार्यक्रम छ ।
तीन दिनअघि डा. शेखरलगायत नेताहरुले प्रधानमन्त्री देउवासँग बालुवाटारमा लामो भेटवार्ता गरेका थिए । यसअघि समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा चर्को असन्तुष्टि जनाउँदै आएको उक्त पक्षको दबाबका कारण काँग्रेसले बाध्य भएर सामान्य संशोधन गरेको थियो ।
प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुको नाम सूचीको यहीबमोजिम अघिल्लो पंक्तिबाट पछाडि धकेलिएको थियो भने अन्य नौ जनाले नाम फिर्ता लिएका थिए ।
टिप्पणीहरू