सीट भाग लाउने भन्दै आज पनि गठबन्धन बैठक, माधव र उपेन्द्र असन्तुष्ट

सीट भाग लाउने भन्दै आज पनि गठबन्धन बैठक, माधव र उपेन्द्र असन्तुष्ट

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि जारी छ । नेपाली कांग्रेसले सीट बाँडफाँडमा एकलौटी गरेको भन्दै गठबन्धनका अन्य चार दल असन्तुष्ट भइरहेका बेला अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

दुई ठूला दल काँग्रेस र माओवादी केन्द्रले आफूलाई अपमान गरेको भन्दै पछिल्लो समय नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) असन्तुष्ट छन् । जसपाले औपचारिक रुपमा गठबन्धन बाहिर पनि तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले १७ सीटमा चित्त बुझाउन नसकिने अडान दोहोर्याउँदै आएको छ ।

यसकारण दशैँमा समेत लगालग बैठकमा बसेका गठबन्धनका शीर्ष नेताहरु सहमतिमा पुग्न सकेका छैनन् । पछिल्ला बैठकमा सहमति जुट्नेभन्दा पनि थप असन्तुष्टि चर्किंदै गएपछि गठबन्धनलाई सीट भागबण्डा मिलाउन ‘भ्यागुत्ताको धार्नी’ भएको छ । तर, नेताहरुले भने सधैँजस्तै आज पनि सहमति जुट्ने दाबी छाडेका छैनन् ।

यसअघि काँग्रेस ८५, माओवादी ४४, समाजवादी १७, जसपा १३ र राष्ट्रिय जनमोर्चाले २ सीट लिने गरि भागबण्डा मिलेको बताइएको थियो । तर, आफूहरुलाई सम्मानजनक व्यवहार नगरिएको भन्दै जसपा भड्किएपछि कांग्रेसको प्रस्तावअनुसारको उक्त सहमति भाँडिएको हो ।

टिप्पणीहरू