बाढी, पहिरोको जोखिम अत्यधिक रहेको धादिङ जिल्ला प्रशासनको ठहर
लगातारको वर्षापछि जिल्लाका विभिन्न पालिका र स्थानमा बाढी, पहिरो जस्ता विपद्का घटनाहरू बढ्न सक्ने अवस्था रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ । जिल्लाका पृथ्वी लोकमार्ग र गल्छीको महेशदोभानलगायत स्थानमा सडकहरू अवरूद्ध हुने सम्भावना रहेको बताइएको छ ।
जिल्ला प्रशासनले सडक र नदी किनारमा लापरवाही नगर्न अनुरोध गर्दै चाडपर्वको समयमा सबै सरोकारवाला र सर्वसाधारणलाई मौसम, सडकको अवस्था र अन्य परिस्थितिको आँकलन गरेर मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

त्यसैगरी जिल्लाका १३ वटै पालिकाका कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिले आ–आफ्नो पालिकाभित्रको मौसम र सडकको अवस्थाका बारे स्थानीय नागरिकलाई आवश्यक सचेतना तथा सडक सफाइमा हेभी इक्वीपमेन्टलगायत सामग्रीको प्रबन्धका विषयमा उपयुक्त कदम चाल्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
जिल्लास्थित सुरक्षा निकाय एवम् अन्य सम्बद्ध निकायलाई समेत जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ अनुसार आ–आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका कार्यान्वयन गर्न गराउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले लिखित निर्देशन दिएका छन् ।
टिप्पणीहरू