चार जनाको प्रयासले ४२ जनालाई रोजगारी !

चार जनाको प्रयासले ४२ जनालाई रोजगारी !

-अमृत बास्कुने

हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासपछि युवाहरुलार्ई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरु आफू स्वःरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका छन् ।

बेनीबजारको गणेशटोलमा डिजी प्रिन्टका सञ्चालक भीमनाथ शर्माले थालेको डिजी प्रिन्टिङ एण्ड सोलुसनबाट हाल नौ जनाले रोजगारी पाएका छन् । शर्मा आफैं पनि सोही व्यवसायमा आबद्ध छन् । उनीसहित तीन जना कम्प्युटर अपरेटर, दुई जना प्रेस अपरेटर, एक जना बजार व्यवस्थापक, एक जना काउण्टरमा, एकजना स्क्रि प्रिन्ट र एकजना फ्रेम निर्माणमा संलग्न छन् ।

बेनी नगरपालिका–१०, पात्लेखेतका स्थायी बासिन्दा शर्माले २०७० सालदेखि व्यवसाय सञ्चालन गरेका हुन् । वैदेशिक रोजगारीभन्दा आफ्नौ प्रयासमा थातथलोमा केही गर्न सकिएला भनेर गरेको प्रयासले आफू मात्रै नभएर अन्य सात जनालाईसमेत रोजगारी दिन सकेकोमा खुशी लागेको उनी बताउँछन् । दर्ता तथा अनुमति लिनुपर्ने सबै निकायमा लिपिबद्ध गरेर व्यवसाय गर्दा कुनै समस्या नहुने उनको भनाइ छ ।यसैगरी मंगला गाउँपालिका–४, बरंजाका दुर्गालाल कँडेल वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमरेट्सको दुबई शहर पुगेका थिए । झण्डै दुई लाखको मासिक तलब छाडेर चार वर्षअघि स्वदेश फर्के । त्यसपछि उनले पनि बेनी नगरपालिका–८, शिक्षामार्गमा मनकामना बेकरी सञ्चालन गरेका छन् ।

डेरी उद्योगसँगै बेकरी उद्योग सञ्चालन गरेका उनले युएईमा छँदा सर्भकोर्प एलएलसी कम्पनीमा चार वर्ष काम गरेका थिए । अहिले आफ्नो बेकरीमा मिस्त्री दुई जना, हेल्पर दुई जना, सेल्समेन एक जना, काउन्टर सेल्स पर्सन एक जना, केक सेफ एक जना र आफू स्वयं रोजगार छन् ।त्यस्तै बेनी नगरपालिका–९, घताका सन्दीप खत्रीले २०७४ सालबाट बेनीको गणेशटोलमै लालीगुराँस अफसेट एण्ड फ्लेक्स प्रिन्ट सञ्चालन गर्दै आएका छन् । उनको व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता छ । मेसिनमा तीन जना, कम्प्युटर अपरेटर खत्रीसहित दुई जना, मार्केटिङमा एक जना, बाइण्डिङमा दुई जना, फ्लेक्स प्रिन्टमा एक जना र काउन्टरमा एक जना गरी १० जनाले रोजगारी पाएका छन् ।

सञ्चालक खत्री आफैँ पनि सोही काममा खटिएका छन् । म्याग्दीमै जन्मिएको र हुर्केकाले जिल्लामै व्यवसाय गर्दा राम्रो सहयोग मिल्ने अनुभव बताउँदै खत्रीले भने, ‘त्यसमाथि पनि आफूले अरु युवालाईसमेत रोजगार दिन पाउनु सबल पक्ष हो ।’


शिवपुरी गाउँपालिका–३, नुवाकोट घर भएका र बेनीमा लामा रेष्टुरेन्ट तथा लामा कुदाप सञ्चालन गरेका राजन लामाले आफूसहित १५ जनाको निम्ति रोजगारी सिर्जना गरेका छन् । लामाले किचनमा पाँच जना, सहयोगी तीन जना, वेटर पाँच जनालाई रोजगारी दिएका छन् । आफू र श्रीमती दुबै जनाले काउण्टर चिफको रुपमा काम गरेका छन् ।

लामो समयसम्म होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सक्रिय लामाले पछिल्लो समय आफ्नै प्रयासमा बेनी बजारको हस्पिटलचोकमा लामा कुदाप र गणेश टोलमा लामा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । ग्राहकको मागअनुसारको खानाको परिकार उपलब्ध गराउन सकेको कारण आफ्नो व्यवसाय फस्टाउँदै गएको उनको बुझाइ छ ।

२०५९ सालमा नुवाकोटबाट बागलुङ आएका लामा २०६२ मा बेनी पुगे । त्यसपछि २०७२ सालदेखि उनले आफ्नै व्यवसाय सञ्चालन गरेका हुन् । म्याग्दी क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सेवा सुविधा र फरक स्वाद भित्र्याउने कार्यमा उनको महत्वपूर्ण भूमिका र योगदान भएको ग्राहकहरु बताउँछन् । फरक स्वादकै कारण आफ्नो होटलमा ग्राहकको घुइँचो लाग्ने गरेको उनको दाबी छ । यसरी युवाहरुले थालेको पेशा तथा व्यवसायबाट आफू सफल उद्यमी बन्नुका साथै अन्य युवाहरुसमेत उद्यमी बन्नेतर्फ आकर्षित भएका छन् ।

चार जना युवाले गरेको फरक पेशा तथा व्यवसायले रोजगारीको सिर्जना गरेको छ । साथै युवालाई उद्यमी बन्न प्रोत्साहन मिलेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । युवाहरुले थालेको व्यवसायलाई म्याग्दी उद्योग वाणिज्य संघले पनि प्रवर्दन गरेको बताउँदै कटुवालले भने, ‘युवाले व्यवसाय गर्दा गुणस्तर कायम रहन्छ । सेवा पनि छिटोछरितो हुने भएकाले व्यवसाय फस्टाउँछ ।’

टिप्पणीहरू