काठमाडौं ७ मा माओवादीको तर्फबाट मानुषी उठ्ने,डा.सैंजु पनि इच्छुक
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेकपा माओवादी केन्द्रको तर्फबाट नेवा:पार्टीका डा. विजयप्रकाश सैंजुले पनि उठ्न अध्यक्ष प्रचण्डसङ्ग कुरा चलाएको पाइएको छ । नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष सैंजुले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठ्न तयार रहेको खुमल्टारलाई खबर दिएका थिए ।
गठबन्धनको सीट बाँडफाँडमा उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । दुई वटा प्रदेश सभा सदस्यमा एउटा नेकपा एकीकृत समाजवादी र अर्कोमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसअघि जसपाले दाबी गर्दै आएको उक्त क्षेत्र अहिले माओवादीको भागमा परेको छ । जसपाको तर्फबाट मन्त्री राजेन्द्र श्रेष्ठलाई उठाइने बताइएको थियो । तर, गठबन्धनबाट अलग्गिएर एमालेसँग चुनावी तालमेल गरेपछि माओवादीको दाबीलाई सहज भएको छ ।
अध्यक्ष प्रचण्डसँग विशेष सम्बन्ध राख्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो गोरखाको क्षेत्र प्रचण्डलाई छाडेर यता काठमाडौं ७ मा माओवादीको चिन्ह लिएर छोरी मानुषीलाई उठाउने तयारी गर्नुभएको छ ।
तर,डा. सैंजुले अध्यक्ष प्रचण्डसँगको पटक पटकको छलफलमा आफूलाई उक्त क्षेत्रमा उम्मेदवारी दिन वचन दिएको तथ्य उजागर गरेका छन् । यसअघि जसपाले दाबी गरेको अवस्थामा उक्त वचन पूरा हुने सम्भावना नरहेको यथार्थ आफूलाई पनि जानकारी भएको बताउँदै सैंजुले भनेका छन्,‘कमरेड प्रचण्डले पटक पटक ७ नम्बरको निम्ति उपयुक्त उम्मेदवार तपाईं नै हो भन्नुभएको थियो ।’
वामपन्थी झुकाव राख्ने भएकाले पनि अध्यक्ष प्रचण्ड आफूप्रति सकारात्मक रहेको डा. सैंजुको भनाइ छ । उनले भने, ‘माओवादीको तर्फबाट हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको अवस्थामा मेरो जीत हुनसक्छ ।’
टिप्पणीहरू