टिकट वितरणले सबैतिर असन्तुष्टी,पार्टी छोड्ने र उम्मेदवार बनाउने होडबाजी

टिकट वितरणले सबैतिर असन्तुष्टी,पार्टी छोड्ने र उम्मेदवार बनाउने होडबाजी

मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्म आइपुग्दा टिकट वितरणलाई लिएर प्रमुख राजनीतिक दलहरुमा चर्को असन्तुष्टी देखिएको छ । टिकट पाउने आसमा बसेका आकांक्षीहरु अन्तिम समयमा पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि दल परित्याग गरिरहेका छन् । त्यसरी दल त्याग्नेहरु धेरैले अर्को पार्टीमा प्रवेश गरेर टिकट लिएका छन् भने कतिपयले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवारी दिन लागेका उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

एमालेमा १० बुँदे समूहका नेता भुसालले हिजो एमाले छोडेको घोषणा गरेका थिए । त्यसलगत्तै गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको रुपन्देही-१ बाट चुनाव लड्न माओवादीको तर्फबाट उनलाई प्रस्ताव गरिएको थियो । तर,भुसालले स्वतन्त्र लड्ने अडान लिएपछि उनलाई गठबन्धनको साझा उम्मेदवार बनाइने भएको हो । अब सो क्षेत्रमा माओवादीले उम्मेदवारी दिने छैन ।

अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई टिकट नदिएपछि एमालेमा पहिरो गएको छ । जिल्लाका अधिकांश नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

त्यस्तै,नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् । स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपनि केन्द्रले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै उनले पार्टी छोडेका हुन् ।

टिकट वितरणमा असन्तुष्ट एमाले मोरङका नेता रुपेश खतिवडाले पनि पार्टीको सबै जिम्मेवारी त्यागेको घोषणा गरेका छन् । एमाले मोरङ जिल्ला सचिव रहेका उनले स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ताको सल्लाह, सुझाव र आग्रह विपरित एकतर्फी रुपमा गरिएको टिकट बितरण स्वीकार गर्न नसक्ने भन्दै पार्टी छोडेको जानकारी गराए ।

टिकट वितरणमा असन्तुष्ट हुँदै पार्टी छोड्नेहरु झापामा पनि देखिएका छन् । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना माओवादी प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रले झापा-२ बाट टिकट दिने भएपछि एमाले परित्याग गरेका हुन् ।

यता, नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सचिव गौरिशंकर गिरीले पनि टिकट वितरणमा असन्तुष्टि प्रकट गर्दै पार्टी छोडेका छन् । बिपी कांग्रेसमा प्रवेश गरेका उनलाई सो पार्टीले उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ ।

सुर्खेतमा नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलन गरेर गठबन्धनको निर्णय नसच्चिएको खण्डमा गठबन्धन तोड्ने र प्रतिनिधिसभाका दुई र प्रदेश सभाका चार वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएको छ ।

एमाले परित्याग गरेका योगेन्द्र शाहीले माओवादी केन्द्रका तर्फबाट टिकट पाउने भएका छन् । एमालेको अर्थ तथा योजना विभागका सचिव रहेका उनलाई माओवादीले दैलेख-२ (ख) बाट प्रदेशसभाको टिकट दिने भएको छ । घनश्याम भुसाल निकट मानिने उनले हिजो पार्टी छोडेको घोषणा गरेका थिए ।

टिप्पणीहरू