रोल्पामा काँग्रेस पस्यो, प्रधानमन्त्रीको बधाई
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अन्ततः रोल्पा (ख) बाट टिकट पाएका छन् । काँग्रेस–माओवादीबीच चुनावी तालमेलको सहमति भएपछि उनी प्रदेशसभा सदस्य उम्मेदवारका लागि पक्का भएका हुन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र सभापति अमरसिंह पुनबीच रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादी तथा प्रदेश (ख) काँग्रेसले पाउने सहमति भएको हो ।
वाम–लोकतान्त्रिक गठबन्धनको मर्मअनुरुप माओवादी प्रभावक्षेत्र मानिएको रोल्पामा चुनावी तालमेल गरिएको नेताहरूले बताएका छन् ।
माओवादीभित्र व्यापक विरोध हुँदाहुँदै पनि काँग्रेस नेता पुनले रोल्पा (ख) मा ‘इन्ट्री’ गरेका हुन् । रोल्पाको एउटा प्रदेशसभामा काँग्रेसको अडान र माओवादीको लचकतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभापति पुनले टिकट पाएलगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले फोनमार्फत् बधाई तथा शुभकामना दिनुभएको बताइएको छ । पुन निकट एक नेताका अनुसार प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू